© २०२३
कपिलवस्तु, ८ असार ।
कपिलवस्तु कारागारबाट २०६६ साल माघ २ गते सुरुङ्ग खनेर फरार प्रतिवादी भारतीय नागरिकलाई कपिलवस्तु प्रहरीले १४ बर्ष पछि पक्राउ गरेको छ । कपिलवस्तु कारागारबाट सुरुङ्ग खनेर भागेका ८ जना कैदी मध्येका भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई कपिलवस्तु प्रहरीले १४ बर्षपछि नियन्त्रणमा लिएको हो । ६ बर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुल उपर गर्नुपर्ने उनलाई जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ बाट कपिलवस्तु प्रहरीको बिशेष टोलीले नियन्त्रणमा लिएको हो ।
२०६६ माघ २ गते उनी सहितका ८ जना २१ फिट सुरुङ्ग खनेर कारागारको पुर्वी पर्खालबाट भागेका थिए । कारागारबाट भाग्नेहरुमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुल सहित कर्तब्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवण कुमार मुराउ थिए । त्यस्तै लागु औषधका संन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबर्जस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए । सुरुङ्ग खनेर भागेका ७ जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । मोहम्मद स्कुल पक्राउ परेसँगै सुरुङ्ग खनेर भागेका ८ जना फरार प्रतिवादी मध्ये सबैलाई पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको हो ।
कपिलवस्तु प्रहरीले चालु आर्थिक बर्षको हाल सम्म सम्मको अवधिमा १ सय २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जसबाट १ सय ४७ बर्ष १० महिना कैद भुक्तानी र १६ लाख १३ हजार ५ सय ४५ रुपैयाँ जरिवाना असुल हुनेछ । अपराध गर्ने व्यक्ति अनुसन्धान पुरा नहुदै फरार भएको भए अनुसन्धान पुरा गरी कारवाही अगाडि बढाउन र अदालतले सजाय तोकेका व्यक्ति फरार भै रहेको भए तिनलाई कानुनको दायरामा ल्याउनका लागि कपिलवस्तु प्रहरीले फरार अपराधी पक्राउलाई प्राथमिकतामा राखेको हो । फरार प्रतिवादीहरुमा पनि ठुला अपराधमा संलग्नहरुलाई विशेष निगरानी गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । फरार प्रतिवादी पक्राउका लागि प्रहरीको बिशेष टोली खटाईएको उनले बताए ।