© २०२३
बुटवल, ६ असार । उद्योग ब्यापार संघ बुटवलले छैठौं स्थापना दिवसको अवसरमा बुटवलमा सरसफाई र बृक्षरोपण गरेको छ । बुटवलको पुष्पलाल चोक देखि ट्राफिकचोक जाने सडकको बीचको करिब ७ सय फिट लामो डिभाइडरमा सरसफाई र दुई दर्जन नयां बिरुवा लगाएको हो । संघले पुराना बिरुवा गोडमेल गर्नुका साथै बेगमबेली,सितारा र बाह्रमासे जातका दुई दर्जन नयां फूलका बिरुवा रोपेको हो । सो अवसरमा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले उद्योग ब्यापार संघले व्यवसायिक हकहितसंगै सामाजिक काममा पनि नेतृत्वदायी भूमिका बनाउन सुझाव दिए । उनले देशभरका शाखा मध्ये बुटवल शाखाले अहिलेसम्म उत्कृष्ट काम गरेको भन्दै सराहना समेत गरे ।
संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेयले संघले उद्योगी व्यवसायीका समस्या समाधानसंगै बुटवलमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको बताए । संघका उद्योग उपाध्यक्ष पदम जीसीले २०७८ सालमा आफ्नो संयोजकत्वमा करिब ३ लाख रुपैयां खर्च गरेर उक्त डिभाइडरमा तार जाली सहित बृक्षरोपण गरेको बताए । उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गोबिन्दराज गैरे, महासंघ केन्द्रीय सहकोषाध्यक्ष लोकजंग लामा, संघका महासचिव यमलाल मरासिनी, कार्यक्रम संयोजक जनेश पन्थी लगायतले बोल्दै स्थानीय सरकारसंगको सहकार्यमा आवश्यकता अनुसार सामाजिक कामलाई निरन्तरता दिने बताएका थिए । संघले स्थापना दिवसको अवसरमा सचिवालयमा दीप प्रज्ज्वलन समेत गरेको छ ।