© २०२३
पाल्पा, २ असार । मकैमा फौजी किराको प्रकोप बढ्न थालेपछि पाल्पाका किसान चिन्तित भएका छन् । भर्खर गोड्ने बेला हुँदै गरेको मकैमा किरा लागेपछि किसानलाई समस्या भएको छ । जिल्लाको तिनाउ, बगनासकाली, रम्भा, पूर्वखोला रिब्दीकोट लगायतका स्थानीय तहमा फौजी किराको प्रकोप बढेको छ ।
फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका साना मकैको गुभामा गई मकैको स्वीइराहरू खाने र हुर्केका मकैको बोट किराले सखाप पारेको किसानले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । बगनासकाली गाउँपालिका –१ चिलाङ्दीका नारायण रानाले घर नजिकैको बारीमा मकै खेती गरेका छन् । तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो । रानाले ‘हाम्रो तिर विगतका वर्षमा यस्तो प्रकोप थिएन, गत बर्ष खडेरीले मकै भएन अहिले फौजी किराले सखाप पार्ला जस्तो छ ।’ उनको जस्तै सोही ठाउँकी सीता न्यौपानेको पनि उस्तै छ । ‘रोग नलाग्दा खान पुग्थ्यो । यहीबाट नुन तेल समेत खरिद गर्दथ्यौँ । रोग लागेपछि के खाने कसो गर्ने भन्ने भएको छ’ न्यौपानेले भनिन् ‘यसलाई कसरी निर्मूल गर्न सकिन्छ ? हामीलाई उपचारको खाँचो छ ।’ बारीमा लगाएको सबै मकै फौजी किराले खाइदिएको उनले गुनासो गरिन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रबाट विषादी उपलब्ध गराएको थियो । तर यसवर्ष औषधि नपाएको उनको गुनासो छ ।
जेठ १५ गतेदेखि पाल्पामा छिरेको फौजी किराले जिल्लाको तिनाउ, बगनासकाली, रम्भा, पूर्वखोला रिब्दीकोट लगायतका स्थानीय तहमा किसानले लगाएको मकैमा क्षति गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । पाल्पाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैमा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्रका कृषि प्रसारण अधिकृत सुरत पालले बताए । उनले बजेट अभावले अहिले प्रकोप नियन्त्रणका योजना बनाउन नसकिएको बताए ।