© २०२३
बुटवल, ३२ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो । खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा सिफारिश भएका आचार्यलाई कुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार विहान नियुक्तिपत्र प्रदान गरेका छन् । तेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पु¥याउने गरी काम गर्ने बताए । देवदहमा नयाँ परियोजना शुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई संगसंगै लगिने उनले बताए । रजिष्ट्रार छनौटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले ९ जना मध्येबाट आचार्यलाई सिफारिस गरेको हो ।