© २०२३
तिलोत्तमा, २९ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका तरकारी, च्याउ र फूल (पुष्प) खेती तथा बाख्रा र मौरी पालन गर्ने किसानलाई प्रोत्साहन गर्न शुरु गरिएको नमूना कृषक प्रवद्र्धन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
आर्थिक वर्ष २०७७ ।७८ बाट शुरु भएको यो कार्यक्रमले विशेषगरी साना किसानलाई प्रोत्साहन गरेपछि यसले निरन्तरता पाएको छ । यो कार्यक्रम नगरकै सोंच र नगरकै आर्थिक स्रोतबाट सञ्चालन भइरहेको छ । यसमा छनोट हुन तरकारी,च्याउ खेती र मौरी पालन कम्तीमा ५ कठ्ठामा र नर्सरी (पुष्प खेती) कम्तीमा ५० वर्गमिटरमा गरेको हुनुपर्ने प्रावधान बनाइएको छ । कार्यक्रममा छनोट हुने हरेक किसान वा फर्मले २० हजार रुपैयां अनुदान पाउंछन् ।
शुरुको वर्ष ७५ प्रतिशत अनुदान दिने गरिएकामा आर्थिक वर्ष २०७८।७९ बाट अनुदानको दर बढाएर ८० प्रतिशत बनाइएको छ ।
‘नगरपालिकाले तिलोत्तमालाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने र प्रांगारिक उत्पादनको नगर बनाउने लक्ष्य राखेर काम गरेका छौं, त्यसकै एउटा पाटो नमूना कृषक प्रवद्र्धन कार्यक्रम हो’– नगर प्रमुख रामकृष्ण खांणले भने–‘कृषि उत्पादन बढाउन जमिन बांझो राख्न नदिने र उत्पादनका आधारमा अनुदान दिने गरेका छौं, यसले किसानहरुमा उत्साह थपेको छ ।’
शुरुको वर्ष यो कार्यक्रमबाट नर्सरीतर्फ ४ जना र तरकारी खेतीतर्फ २८ जनाले अनुदान पाएका नगरपाकिलाका कृषि विकास शाखा प्रमुख दोमलाल भुसालले बताए । आर्थिक वर्ष २०७८।७९ मा भने २० जना मात्र अनुदान पाउन योग्यको सूचिमा छनोट भए ।
आर्थिक वर्ष २०७९।८०मा तरकारी खेतीमा २५ जना र पुष्प नर्सरीमा ५ जना गरी ३० जना किसान लाभान्वित भएका कृषि शाखा प्रमुख भुसालले जानकारी दिए ।
आर्थिक वर्ष ८०।८१ मा ३२ जना किसानले अनुदान पाएका छन् ।
कृषक छनोट गर्न नगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा कृषि व्यवसाय प्रवद्र्धन समिति हुन्छ । यस्तै अनुदानका लागि आवेदन दिने किसानको खेती अनुगमन गर्न उपप्रमुखको संयोजकत्वमा अर्को समिति हुन्छ । उपप्रमुख नेतृत्वको मुल्याङकन समितिले फिल्डमा गएर हेरेपछि पुनः कृषि व्यवसाय प्रवद्र्धन समितिमा प्रतिवेदन बुझाइन्छ ।
उक्त प्रतिवेदनका आधारमा समितिले अनुदान पाउन योग्य किसान वा कृषि समूह छनोटको निर्णय गर्छ । यसले गर्दा राजनीतिक पहुंचकै आधारमा मात्र अनुदान हात पार्ने परिपाटीको अन्त्य गरेको र वास्तविक किसानले अनुदान पाउने नजिर बसेको नगर प्रमुख खांणले बताए । छनोट हुन खेतीमा रासायनिक मलको साटो प्रांगारिक तथा जैविक मल प्रयोग गर्नेलाई प्राथमिकतामा राखिने गरेको छ ।
अनुदान पाउने मध्येको तिलोत्तमा मोडर्न फूल उत्पादन कृषक समुह तिलोत्तमा ६ की कोपिला भट्टराई काफ्लेले भने नगरपालिकाले दिने अनुदानले प्रोत्साहन भएपछि ज्यादै कम भएको गुनासो गरिन् ।
‘नहुनु भन्दा थोरै भएपनि अनुदान पाउनु राम्रै हो तर पटक पटक नगरपालिका धाउंदा अनुदान पाउने जति रकम सकिन्छ’–कोपिलाले भनिन्–‘अनुदान पनि बढाउन पर्छ अर्कोतर्फ किसानका उत्पादनको बजारीकरण, न्युतम समर्थन मुल्य, बिउ ,मल र सिंचाईको सहज उपलब्धता पनि हुनुपर्छ, अन्यथा निर्वाहमुखी कृषिले न देश उंभो लाग्छ, न किसान ।’
भण्डारी मौरीपालन तथा कृषि फार्मका सञ्चालक मथुरा भण्डारीले पनि नगरपालिकाले दिने अनुदान रकम असाध्यै कम भएको गुनासो गरे । ‘अनुदान रकम बढाउन प¥यो भनेर कुरा राख्दा नगरभरिका किसानलाई बांड्नपर्छ, वजेटले पुग्दैन बरु प्रदेश सरकारतिर माग्नुस् भन्छन्’–भण्डारीले भने–‘प्रदेशमा अनुदान माग्न जान पहुंच पनि छैन, फुर्सद पनि छैन ।’ भण्डारीले स्थानीय सरकारले अनुदान बढाउने हो भने आफूले गर्दै आएको मौरीपालनलाई दोब्बर बढाउने बताउंछन् । उनले अहिले ३० घार मौरीपालन गरेका छन् । तिलोत्तमाले किसानलाई संगठित गर्न टोल स्तरमा विषयगत कृृषक समूह गठन गरेको छ । जसमा २५० बढी समूह छन् ।
यिनै मध्येका समूह र फर्म नवीकरण गर्नेलाई अनुदान दिने गरिएको र यसमा वडाको सिफारिस अनिवार्य भएको कृषि शाखा प्रमुख भुसालले बताए । अनुदानका लागि छनोट हुने किसानलाई तालिम, भ्रमण र अनुभव आदान प्रदान गराई उनीहरुको स्तर बृद्धि र मझौला तथा ठूला कृषि उद्यमीमा रुपान्तरण गर्न पनि यो कार्यक्रम सहयोगी भएको भुसालको भनाई छ ।
किसानले अनुदान बढाउनुपर्ने माग गर्नु अन्यथा नभएको भन्दै भुसालले किसानको माग अनुसार आगामी वजेटमा के गर्न सकिन्छ छलफल गरेर निर्णय हुने बताए ।