© २०२३
मणिग्राम, २६ जेठ ।
तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले स्थानीय सरकारले उद्योगी व्यवसायी संग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले तिलोत्तमाको विकासको लागि उद्योगी व्यवसायी संग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै तिलोत्तमा लगानीको हिसावले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले उद्योगी व्यवसायीसँगको छलफल र सुझावका आधारमा स्थानीय सरकारले राजश्व नीति तय गर्ने पनि जानकारी गराए ।
नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन हुने खालका कार्यक्रममा स्थानीय सरकारले जोड दिएको बताइन् । उनले उद्योगी व्यवसायीबाट प्राप्त करले स्थानीय सरकार सञ्चालनमा समेत ठूलो सहयोग पुगेको भन्दै निजी क्षेत्रसँग नगरपालिका सधै मिलेर काम गर्न तयार रहेको बताइन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले सरकारका नीति निजी क्षेत्र मैत्री बन्न आवश्यक रहेको बताए । साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले निजी क्षेत्र मैत्री नीतिले नै नेपालले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने र जवसम्म राज्यले निजी क्षेत्रलाई सकारात्मक ढंगबाट हेर्न सक्दैन तबसम्म आर्थिक समृद्धि नारामा मात्र सीमित रहने बताए ।
यस क्षेत्रमा रहेका रुग्ण तथा क्रसर उद्योगका लागि निर्धारण गरिएको व्यवसाय कर बढी भएकाले क मगर्नका लागि तिलोत्तमा नगरपालिकासँग विशेष पहल गरिने पनि उनले बताए । अध्यक्ष भण्डारीले तयारी वस्तुमा लाग्ने भन्सार भन्दा औद्योगिक कच्चा पदार्थमा लगाइएको भन्सार दर घटाउन दवाबमूलक कार्यक्रम सञ्चालन गरिने पनि बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजूले संघीय सरकारले ल्याएको बजेटमा निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको भन्दै यसको कार्यान्वयन भए मात्र अर्थतन्त्रले गति लिने बताए । उनले कोभिडपछि थला परेको उद्योग व्यवसायलाई चलायमान गराउन सरकारले संरक्षणको नीति अंगिकार गर्नुपर्ने बताए ।
उद्योग बाणिज्य महासंघका अर्का केन्द्रीय सदस्य केशव भण्डारीले सरकार राजश्वमुखी मात्र भएको भन्दै उत्पादन बढाउनेतर्फ जोड दिन सके मात्रै मुलुकको अर्थतन्त्र फस्टाउने बताए ।
त्यस अवसरमा उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख भूमिश्वर ढकाल, एमालेका तिलोत्तमा नगर अध्यक्ष तामानाथ पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, जनसहभागितामा आधारित वास सहकारीका अध्यक्ष खेम गौतम, तिलोत्तमा व्यापार संघका उपाध्यक्ष ताराप्रसाद नेपाल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जिएम, संघका सल्लाहकार बालकृष्ण भुसाल, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव राजकुमार पाण्डे लगायतले सरकारका नीति कार्यक्रम उद्योग ब्यवसायमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।
साधारणसभाले अध्यक्ष र महासचिवको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ ।