Butwal Today

कपुरकोटमा ‘ग्रीनबेल्ट जोन’

२४ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

सल्यान, २३ जेठ । कर्णाली प्रदेशको प्रवेशद्वार सल्यानको कपुरकोट स्थित राप्ती लोकमार्ग क्षेत्रमा हरियाली विकास, निमार्ण तथा संरक्षण कार्य सुरु भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर बुधबार विहान ‘ग्रीनबेल्ट जोन’ उद्घाटन गरिएको हो । कपुरकोट प्रवेशद्वार नजिकै ट्राफिक चोक देखी मूलपानी बनस्पति उद्यान हुँदै मूलपानी बजार सम्म करिव ४ किलोमिटर क्षेत्रमा कपुर, मलागिरी, काफल, गुराँस, रुद्राक्ष, तेजपात लगायतका बिरुवा रोपण गरी प्लाण्ट गार्ड सहित निर्माण गर्न लागिएको ग्रीनबेल्ट जोनको उद्घाटन गरिएको हो ।

वनस्पति अनुसन्धान केन्द्र सल्यान, कपुरकोट गाउँपालिका, स्वच्छ सफा नेपाल र दलित बिकास समाजको संयुक्त आयोजना तथा सब डिभिजन कार्यालय, कपुरकोट बजार ब्यवस्थापन समिती, कपुरकोट स्थित सम्पूर्ण बिद्यालय, बित्तिय सस्थाहरू तथा नागरिक सहभागितामा दिवसको अवसर पारेर सचेतना तथा सरसफाइ कार्यक्रम एवम् ग्रीनबेल्ट जोन उद्घाटन कार्यक्रम सम्पन्न गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले जानकारी दिए । हरियाली प्रवद्र्धन र सौन्दर्यीकरणमा टेवा पुग्ने उनको अपेक्षा छ ।

‘हाम्रो भूमी, हाम्रो भबिस्य’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा कपुरकोट तल्लो बजार नजिकै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारीबाट कपुर तथा मालागिरीको विरुवा रोपण गरेर शुरु भएको सरसफाइ कार्यक्रम बजारका बिभिन्न क्षेत्र सफाइ गर्दै मूलपानी बजार पुगेर टुंगिएको थियो । कपुरकोट जागरण अभियान अन्तर्गत कपुरकोट गाउँपालिकाको ब्यवस्थापनमा वनस्पति अनुसन्धान केन्द्र सल्यान संगको सहकार्यमा सो क्षेत्रमा पर्ने सामुदायिक वन लगायत अन्य सबै संस्थाहरूको सहयोगमा ‘ग्रीनबेल्ट जोन’ उद्घाटन गरिएको थियो ।

बिरुवा ब्यवस्थापन वनस्पति अनुसन्धान केन्द्र र गाउँपालिकाले गरेका थिए भने अन्य सामग्रीहरूको ब्यवस्थापन स्वच्छ सफा नेपाल र दलित बिकास समाजले गरेका थिए । कपुरकोट वजार र मूलपानी क्षेत्रबाट पलास्टिकजन्य, बोतल र फलामजन्य गरि कुल डेड कुन्टल फोहोर संकलन भएको वनस्पति केन्द्रका प्रमुख पाठकले बताए । विगतका बर्ष भन्दा फरक सरसफाइ कार्यक्रम पश्चात संकलित फोहोरको वर्गिकरण तथा अडिट गर्ने कार्य समेत गरिएको थियो । सो क्रममा गल्ने र नगल्ने फोहोरको छुट्टा छुट्टै ब्यवस्थापनका लागि अभ्यास पनि गरिएको थियो । स्वच्छ सफा नेपालले अडिट कार्यको बारे जानाकारी गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?