© २०२३
भैरहवा,२३ जेठ । भैरहवाको रण अम्बिका शाह आंखा अस्पतालको भवन निर्माणका लागि आव्हान भएको ठेक्का प्रकृया यथास्थितिमा राख्न उच्च अदालत तुल्सीपुर बुटवल इजलासले अल्पकालीन आदेश दिएको छ ।
ठेक्का प्रकृयामा मिलेमतो (सेटिङ) भएको भन्दै बाबुल निर्माण सेवाका सञ्चालक सफिक अहमदले निषेधाज्ञा मिश्रित उत्प्रेषण परमादेश माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार सुनुवाई गर्दै न्यायाधीश रेखा थापा पाण्डेको एकल इजलासले अन्तरिम आदेश सम्बन्धी छलफलको लागि दुबै पक्षलाई जेठ ३२ गते बोलाएको छ ।
उक्त अवधिसम्म गत चैत १६ मा बोलपत्र प्रकाशित भई प्रारम्भ भएको प्रकृया देखि जेठ ४ गते र जेठ १८ सम्ममा प्रकाशित सुचना समेत यथास्थितिमा राखु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र जोखबहादुर खत्री वहस गरेका थिए ।
अस्पतालले शल्यक्रिया कक्ष भवन निर्माणका लागि २२ करोड ३० लाख रुपैयांको भवन बनाउन टेण्डर आव्हान गरेको थियो ।
आफू अनुकुलको निर्माण कम्पनीलाई ठेक्का दिलाउन प्रतिष्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै प्राविधिक प्रस्ताव अस्वीकार गरेको र झण्डै ५ करोड रुपैयां घोटाला गर्न खोजिएको आरोप सहित निर्माण व्यवसायी सफिक अहमदले अस्पताललाई विपक्षी बनाई अदालतमा रिट हालेका थिए । उनले पुन: टेण्डर आव्हान गर्न माग गरेका थिए । टेण्डरमा कविन्द्र निर्माण सेवा काठमाडौ, एपिएम कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रालि काठमाडौं र नव सिर्जनशिल कन्सट्र«क्सन कम्पनी प्रालि काठमाडौंको प्राविधिक प्रस्ताव स्वीकृत गरी बोलपत्रदाताहरुको नाम छनोट गरिएको थियो । टेण्डरमा चलखेल गर्न ई बिडिङ नगरी हार्डकपी नै पेश गर्नुपर्ने प्रावधानले पनि मिलेमतोको दावीलाई बल पुगेको व्यवसायीको दावी छ ।
अस्पताल प्रशासनले भने गैर सरकारी संस्था भएकाले सरकारी भवन निर्माणका क्रममा लागु हुने नियम आफूहरुलाई नलाग्ने दावी गरेको छ ।