© २०२३
पाल्पा, १७ जेठ । तानसेन खानेपानी उपभोक्ता समितिले तानसेन बजारमा खानेपानीको कुनै समस्या नरहेको जनाएको छ । समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले अहिले उपभोक्ताको धारामा एक दिन बिराएर पानी वितरण हुँदै आएको जानकारी दिए । विगतका दिनमा पानी नआएर तानसेनवासी हैरान थिए भने अहिले धेरै पानी आयो भनेर धारा बन्द गर्ने अवस्थामा पुगको अध्यक्ष श्रेष्ठले बताए ।
तानसेनका उपभोक्तालाई हाल दैनिक २५ लाख लिटर पानीको आवश्यकता भएकोमा हाल दैनिक रूपमा १९ लाख लिटर पानी तानसेनमा वितरण भएको समितिले जनाएको छ । पूर्ण क्षमतामा मोटर पम्प संचालन गर्ने हो भने दैनिक रूपमा पानी वितरण गर्न सकिने अवस्थामा समिति पुगेपनि मोटर पम्पलाई टिकाउनको लागि रातीमा मोटरपम्प गर्दै आएको समितिले जनाएको छ ।
अहिले तानसेनमा कालगण्डकी, भुल्के, सिस्ने, तिनधारा, होलाङ्दी र बाझा मुलबाट पानी संकलन गरी तानसेनमा पानी वितरण हँुदै आएको छ । खानेपानीलाई व्यवस्थित र नियमित गर्नको लागि सबै स्थानको पम्प स्टेशनमा जगेडा मोटरको व्यबस्था मिलाएको, विद्युत लाईन लाई व्यवस्थित गरेको, विभिन्न स्थानहरूका वितरण लाईनहरू मिलाएको समितिले जनाएको छ । संकलित ट्याकीहरूमा बढी भएको पानी मिशन अस्पताल, तानसेन नसिंङ्ग स्कुल, ठूला ठूला होटलहरूमा वितरण गर्दै आएको समितिले जनाएको छ ।
अहिले उपभोक्ताले माग गरेको दुई दिन भित्र नयाँ धारा जडान हुने, घर निर्माणको लागी नक्सा पासको आधारमा नयाँ धारा जडान गर्ने काम नियमित रूपमा भईरहेको समितिले जनाएको छ । पुसदेखि बैशाखसम्मको ५ महिनामा १ करोड ८५ लाख ९५ हजार, ९ सय १५ रूपैया आम्दानी भएको र विद्युत महशुल, नयाँ मोटर खरिद, कर्मचारी तलब लगायत विविधमा १ करोड ५९ लाख ७० हजार ५ सय २० रूपैयाँ खर्च भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । विभिन्न बैंकहरूमा ५ करोड ८९ लाख ७२ हजार ८ सय ५९ रूपैयाँ नगद मौज्दात रहेको समितिले सार्वजनिक गरेको छ ।
यही बैशाख मसान्तसम्म ४४३० वटा धारा वितरण भएकामा ४१६६ वटा निजी, २४४ वटा संघ संस्था र १७ वटा सामुदायिक धारा रहेको, विभिन्न सार्वजनिक स्थलहरूमा टंकी निर्माण गरी सार्वजनिक धारा संचालनमा ल्याउने समितीले जनाएको छ । समितिले सबैको जिम्मेवारी बाडफाँड गरी कामलाई चुस्तदुरुस्त बनाउने काम गरेको जनाएको छ । उपाध्यक्ष लालमने अदै पुनले स्टोर व्यबस्थापन, नियन्त्रण, मुल आपूर्ति व्यबस्थापन, सचिव प्रेम बहादुर मल्लले सचिवालय व्यबस्थापन, शुसिला कर्माचार्यले लेखा व्यबस्थापन, सह सचिव विर्जु खातीले गुनासो गरे । व्यबस्थापन, महेन्द्र बहादुर खातीले वितरण प्रणाली र लाईन व्यबस्थापन, बसन्तराज गहतराजले नयाँ मुल श्रोत पहिचान र रेणुका बस्यालले अनुगमन तथा मुल्याङकनको जिम्मेवारी अनुसार काम गर्दै आएको समितीले जनाएको छ ।