© २०२३
बुटवल, १० जेठ । २५६८ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवस लुम्बिनीम विशेष कार्यक्रम गरिने भएको छ । लुम्बिनी दिवस भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरिएको कोषले जनाएको छ । बिहीबार जेठ १० गते (आज) प्रधानमन्त्री पुुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ बिशेष समारोह गर्न लागिएको विकास कोषका उपाध्यक्ष उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताए । उनले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीहरूलाई सहयोग गर्न आग्रह समेत गरे । उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिश्चिता नहुँदा निकै कठिनाई भोगेको बताउँदै बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए । मूल समारोहमा प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरू सहित उच्चस्तरीय पदाधिकारी, कुुटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहनेछ । प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक एवं कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनी सहित रामग्राम, कपिलबस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए । बुधबार ९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ समेत गरिएको छ ।
मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्राथनासभा, विहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ । लुम्बिनीमा जेष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरी त्रिदेशिय मोटरसाईकल यात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।
बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्राम सम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरूले सहकार्य गरेको जनाइएको छ । कोषले भगवान बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरूलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न समेत अपिल गरेको छ ।
बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम थियो । बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो । बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ । हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बीजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।
आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो । भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए । तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनीश्वर वादी धर्म मात्र नभई कन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन हो, सर्वव्यापी दर्शन ।
यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौँ सम्यक् सम्बुद्ध मानिन्छ । विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।