© २०२३
बुटवल । बुटवल उपमहानगरपालिका र पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रुपन्देहीको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका क्षेत्रमा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन तथा पर्यावरण सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीसँग पर्यावरण सचेतना तथा इको क्लब अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश वन निर्देशनालयका निर्देशक दधिलाल कँडेलले विद्यार्थीहरु सानै उमेरदेखि हरित अभियानमा सहभागी हुनुपर्ने बताउँदै हरित वातावरणले मानव जीवनमा पार्ने सकारात्मक प्रभावबारे आफ्नो प्रस्तुति राखे । हरेक विद्यालयले सञ्चालन गर्ने हो भने, विद्यार्थी मार्फत घरघरमा पर्यावरण सचेतना अभियान पुग्ने कंडेलको विश्वास छ ।
कार्यक्रमका प्रमुख सहजकर्ता सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाका अध्यक्ष दल बहादुर गुरुङले आजको आवश्यकता वातावरण संरक्षणमा बाल सहभागिता विषयमा प्रस्तति राख्दै विद्यालयमा इको क्लव र सो क्लबमा रहेर विद्यार्थी, शिक्षक र विद्यालय प्रशासनको भूमिकाबारे सहजीकरण गरेका थिए ।
शुक्रबार बुटवलको होटल न्यू ईरामा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिका सरसफाइ तथा फोहोरमैला व्यवस्थापन प्रमुख ठगिश्वर पोखरेलले बुटवल उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापनको वर्तमान अवस्था र चुनौती विषयमा आफ्नो प्रस्तुति राखेका थिए। सहभागी विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी तथा सहभागीलाई स्वागत गर्दै पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गङ्गा पोखरेलले प्लाष्टिक र पर्यावरण विषयमा आफ्नो प्रस्तुति राखेकी थिईन् ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक नायकहरु, कान्ति माध्यमिक विद्यालयका विदुर पौडेल, जनता माध्यमिक विद्यालयका गोपाल विष्ट, कालिका मानवज्ञान माध्यमिक विद्यालयका भोजराज अधिकारी, तिलोत्तमा माध्यमिक विद्यालयका जयलाल काफ्ले तथा मोतिपुर माध्यमिक विद्यालयकी हुम कुमारी पौडेलले इको क्लवबारे आफ्नो विद्यालयका भएका गतिविधि र अब गर्ने कार्यक्रमबारे आ-आफ्नो धारणा राखेका थिए ।
सहभागी विद्यार्थीको तर्फबाट कालिका मानवज्ञान माध्यमिक विद्यालयकी छात्रा रचना जि.सि., नविन औद्योगिक माध्यमिक विद्यालयका छात्र रिजन श्रेष्ठ तथा कान्ति माध्यमिक विद्यालयकी छात्रा अनुषा ज्ञवालीले आफ्नो विद्यालयमा इको क्लवले गरेका गतिविधि र कार्यक्रममा आफ्नो सहभागीताबारे धारणा राखेका थिए ।
कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक डिल्ली प्रसाद शर्मा, ज्ञानोदय रात्री माध्यमिक विद्यालयका शिक्षक इन्द्र प्रसाद थापा, कवि गिरी श्रीस मगर तथा कृष्ण गाउँलेले पर्यावरण संरक्षणको महत्त्वबारे बोलेका थिए । कार्यक्रम बुटवल उपमहानगरपालिकाका २० वटा समुदायिक माध्यमिक विद्यालयका तीन/तीन जना विद्यार्थी र शिक्षक नायकको उपस्थिति रहेको थियो ।