© २०२३
काठमाडौं , १ जेठ । सरकारको नीति तथा कार्यक्रमले सहकारी पीडितहरुलाई सम्बोधन गर्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रमले नयाँ उत्साह नदिएको बताए ।
बरु महत्वपूर्ण कुराहरु छुटेको भन्दै उनले सहकारीका बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न नसकेको र सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न नसकेको बताए ।
नियामक निकाय बनाउने पुरानै कुरा भएको भन्दै नेता लेखकले ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको रकम फिर्ता गर्ने स्पष्ट प्रतिवद्धता आउन सक्नुपर्थ्यो भने ।
यसले सरकार सहकारी पीडितहरुको मर्काप्रति संवदनशील छैन भन्ने प्रष्ट भएको लेखकले बताए । उनले सहकारीमा ठगी गर्ने मानिसहरुलाई बचाउने काममा सरकार लागेको पुनर्पुष्टि भएको बताए ।