© २०२३
बुटवल, २९ बैशाख । सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सीमानामा पर्ने मुख्य प्रवेशद्वारहरू मध्ये एक महŒवपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । सिद्धार्थगर अर्थात भैरहवा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पनि हो । हरेक दिन हजारौं पर्यटक भित्रिने र बाहिरीने मुख्य नाकाका रूपमा रहेको छ नगर । प्रवेशद्वारलाई मात्रै नभएर नगरलाई नै सुन्दर र हराभरा बनाउन सकियो भने पर्यटकमा पनि राम्रो सन्देश जानुका साथै वातावरण पनि स्वच्छ रहन्छ ।
यहि महान उद्देश्य लिएर जति मत ल्याउँछु उति बोटबिरुवा लगाउँछु भन्दै निर्वाचनका बेला आममतदातासँग मत मागेर विजयी बनेका सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको प्रतिबद्धता कार्यान्वयनकै क्रममा रहेको बताएका छन् । जति मत ल्याउँछु उति बोटबिरुवा लगाउँछु भन्दै निर्वाचनका बेला आममतदातासँग गरेको प्रतिवद्धतालाई कायम गर्न आफु प्रतिबद्ध भएर लागेको बताए ।
स्थानीय तहको निर्वाचनका व्रmममा उम्मेदवार बनेका नगरप्रमुख खानले आफूले जति मत ल्याउँछु, उति नै बिरुवा रोप्छु भनी सङ्कल्प गरेका थिए । नगर प्रमुख खान त्यही सङ्कल्पअनुरूप अघि बढेकाले नगरको सुन्दरता बढ्दै गएको हो । खानले निर्वाचनका बेला मत बराबरको रुख र फूलको बिरुवा रोप्ने जनाएका थिए । नगर प्रमुख खानका अनुसार वृक्षरोपण कार्य निरन्तर चलेको बताउदै यसमा सहयोगका लागि विभिन्न संघ संस्था, व्यक्ति आदीले पनि सहयोग गर्दै आएको बताए । हरेकले एक विरुवा रोप्नु पर्ने र रोपेको बिरुवालाई मलजल गरि जिवन्त राखेमा पहिलो शहरको सौन्दर्यकरण हुने र दोस्रो हरियाली सहित अक्सिजनको मात्रा बड्न सक्ने बताए । हामीले नगरका अधिकांश ठाउँमा विरुवा रोपेका छौं । ‘नगरपालिकाको कार्यालय आफै, अगुवाई र विभिन्न संघ–संस्थाको सहकार्यमा वृक्षरोपण गर्न सफल भएका छौं, उक्त कार्यको श्रेय सम्पूर्ण नगरबासीलाई दिन चाहन्छु भन्र्दै नगरप्रमुख खानले रोपेका विरुवाहरूलाई छाडा चौपायाबाट बचाउने, पानी र मलको व्यवस्था गर्ने काम पनि भैरहेका बताए । साथै हरेकले विरुवालाई जलमल गरि जिवन्त राख्नु पर्ने बताए ।
हरित सिद्धार्थनगरले आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खुसी बनाएको छ । सिद्धार्थनगरको मुख्य सडकहरूमा अहिले वृक्षारोपण गरिएको छ । नगरलाई सुन्दर र हरियाली शहरको रूपमा विकास गर्नका लागि वृक्षरोपणलाई अभियानको रूपमा सञ्चालन गरिएको नगरप्रमुख इश्तियाक अहमद खानले बताए । उनले यस अभियानले वातावरण संरक्षणमा समेत टेवा पुयाएको बताए । खानले नगरलाई हराभरा बनाउनका लागि र सौन्दर्यकरण कायम गर्नका लागि यो अभियान निकै फाइदाजनक रहेको बताए । ‘बढ्दो तापक्रमबाट थोरै भए पनि केही राहत हुन्छ कि भनेर वृक्षारोपण अभियान चलाउनुको उद्देश्यमध्ये एउटा यो कारण पनि हो । नगरप्रमुख खानले भने, ‘वृक्षरोपण करले होइन रहरले गर्ने हो र यो हामी सबैको लागि प्रत्येक दृष्टिकोणले फाइदाजनक विषय हो ।’
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले रोपिएका बिरुवाको संरक्षण तथा व्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको दाबी गरिन । उपप्रमुख अधिकारीले नगरवासीको सहकार्यमा बिरुवा रोप्ने तथा त्यसलाई स्याहारसुसार गर्ने र हुर्काउने काम भैरहेको भनाइ छ । हराभरा र फूलको सहरका रूपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको पनि उनको भनाइ छ ।
नगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्ड्ली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ । नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ । नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैङ्क रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्ध चोक लगायतका क्षेत्र हरियाली बनाएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विभिन्न सस्थासँग पनि मिलेर वृक्षारोपण गरेको प्रमुख प्रशासकीय अधिकृत जनक थापा जानकारी दिए । रोपिएका विरुवाको संरक्षणका लागि नगरपालिकाले कर्मचारीको व्यवस्थापन समेत गरेको बताए । उनका अनुसार विरुवाको स्याहारसुसार, मलजलको साथै सिंचाईका लागि नगरपालिकाले पानी हाल्नका लागि २ ओटा ट्यांकरसहित ४ जना विरुवा हुर्काउने कार्यका लागि खटाइएको छ ।
अहिले सिद्धार्थनगरका विभिन्न स्थान हराभरा र सुन्दर देखिन थालेको छ । बेलहियादेखि अञ्चलपुरसम्मको डिभाईडर र छेउछेउमा रोपिएका विरुवाले नगर नै सुन्दर र हरियाली देखिन थालेको छ । सिद्धार्थनगर नगरपालिकाका कृषि अधिकृत योगेन्द्रप्रसाद यादवका अनुसार नगरपालिकाले यस वर्ष पनि आँप, लिची, एबोगाडो, अमला, कटहर लगाएतका विभिन्न जातका बिरुवा तथा फूलका विरुवाहरू असारमा ४ हजार विरुवा अनुदानका रूपमा नगरबासीलाई वितरण गर्ने योजना रहेको बताए ।
खाँनले स्थानीय तहको निर्वाचनका क्रममा ९ हजार १ सय ३४ मत प्राप्त गरी निर्वाचित भएका थिए । आफुले पाएको मत बराबरकै वृक्षरोपण गर्ने भनिएता पनि हालसम्म करिब २० हजार बोटविरुवाहरू रोपिएको सिद्धार्थनगर नगरपालिकाका प्रेस संयोजक सलमान खानको भनाई छ । २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको केहि दिनमा २ वर्ष पुरा हँुदै छ । प्रमुखले बोले अनुरूप विरुवा त रोपिएको भएपनि यो पुण्यको काम भएकाले नगरले निरन्तरता दिँदै आइएको छ । अभियानलाई निरन्तरता दिन विभिन्न संघ संस्था, टोलबासी, आमा समूह, युवा समूह तथा व्यक्तिले आ–आफ्ना घरआँगन, सडकपेटी तथा मुख्य सडकपेटीमा विभिन्न जातका फलफूल तथा रुखहरू रोपिएको छ । सिद्धार्थनगरका प्रभात पथ, हिमाली पथ, जनक पथ, गाग्री पथ, भैरहवा गाँउ, उदयपुर, लुम्बिनी गेट लगाएत बेलहियादेखि अञ्चलपुरसम्म ७ किलोमिटर सडकको छेउछाउमा अमला, लिचि, कटहर, एभोगाडो, आँप, राजवृक्ष, कपुर, रुद्राक्ष, अर्जुन, बर पीपल, स्वामी, गुलाव, बेगमबेली फूल आदी फलफूलका विरुवाहरू रोपिनुका साथै कर्मचारीहरू नै राखेर मलजल गर्ने, गोडमल गर्ने, काटछाँट आदि कार्य गरिँदै आएको पनि खानको भनाइ छ ।
भारतसँग सीमा जोडिएको सीमानाका भएकाले पनि नगरभित्र खुल्लारूपमा आवतजावत हुने, खल्लारूपमा गुड्का सुपारी, पान आदी विक्री वितरण हुने, खाने चपाउने र जथाभावी थुक्ने हुँदा नगरको सौन्दर्यकरणमा गिरावट आएको थियो । सुर्तिजय पदार्थ किनवेचमा कडाई तथा जथाभावी थुक्नेलाई कारबाही आदी अभियान संचालन पछि थप सौन्दर्यकरणमा वृद्धि भएको स्थानिय दिपक विश्वकर्माको भनाइ छ । नगरलाई हराभरा र हरियाली बनाउने नगरप्रमुखको प्रतिवद्धता सहित काम पनि गरेकाले हामी खुशी छौं र यसको संरक्षण हाम्रो पनि दायित्व हो अर्का स्थानीय विकास थापाको भनाई छ । सिद्धार्थराजमार्गको स्तरवृद्धि, बिचको डिभाइडरमा वृक्षरोपण तथा सडक पेटी छेउछाउमा रोपिएका बोटविरुवाका कारण नगरको थप सौन्दर्यता बढेको अर्का स्थानीय रिता शर्माको भनाइ छ ।