© २०२३
काठमाडौं,२६ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल पार्टी विभाजनविरुद्ध आज अदालत जाने तयारी गरेको छ । अदालत जाने औपचारिक निर्णय गर्न आज पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा केन्द्रीय कार्यकारिणी बैठक बस्न लागेको प्रवक्ता मनिष सुमनले बताए । अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा जसपा नेपाल अदालत जाने तयारी गरेको हो ।
पार्टी विभाजनको विषयमा आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको समेत प्रवक्ता सुमनले बताए । दल विभाजन सम्बन्धी कानूननै नभएको बेलामा निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता दिएकोप्रति जसपा नेपालको असन्तुष्टि छ।
अध्यक्ष यादव अमेरिका भ्रमणमा भएको बेलामा राईको नेतृत्वमा आइतबार निवेदन दिए लगत्तै आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो। हिजो बसेको बैठकले पार्टी विभाजनबारे कानूनी उपचार खोज्ने निष्कर्ष निकालेको थियो ।