© २०२३
बुटवल,२४ बैशाख । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्।
प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन।
१४ महिनामा ३ पटक सरकार फेरिएको र सत्तारुढ दल नै फुट्ने अवस्था आउनु चिन्ताको विषय भएको उनले बताए ।
मुलुकमा स्थिरता ल्याउनका लागि गम्भीरतापूर्वक सोच्नु पर्ने अवस्था आएको उनको भनाइ थियो। संविधानको समीक्षा गरेर अन्य पार्टीहरुसँग संवाद र सहमतिमा संशोधन गरेर जानु पर्नेमा उनले जोड दिए।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु पर्ने उनले बताए। सरकारले नेपाली कांग्रेसले उठान गरेको माग सम्बोधन नगरेर संसदको अधिवेशन अन्त्य गरेर भागेको उनको टिप्पणी थियो।
बजेट अधिवेशन आह्वान भएकाले त्यसअघि नै सरकारले आफूहरुको माग सम्बोधन गरेर जानेमा उनले विश्वास व्यक्त गरे। नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउन पर्ने आवाज उठिरहेको पनि उनले बताए। नेकपा एमालेभित्रै अहिले सत्तारुढ समीकरणप्रति असन्तुष्टि देखिएको उनको दाबी थियो।
दुवै पार्टीभित्र र जनतामा एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्ने आवाज उठेको बताउँदै उनले तर त्यसका लागि ठोस संवाद नभएको स्पष्ट पारे।