Butwal Today

कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता

१८ बैशाख २०८१, मंगलवार
अ+
अ-

बुटवल,१८ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै  कँडेलले सरकारलाई पूर्णता दिएका हुन् ।

चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र   एमालेका तीन– तीन जना मन्त्री नियुक्त गरे ।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका छन् ।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् ।    मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।