© २०२३
बुटवल,१५ बैशाख । उद्योग ब्यापार संघ बुटवलले आठौं रक्तदान कार्यक्रम गरेको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघले आठौं पटक रक्तदान गरेको हो । कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकालले व्यवसायिक हक हितका अलावा संघले सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिका खेल्नुपर्ने सुझाव दिए ।
संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्दै आएको चर्चा गर्दै रगतको अभावमा कसैको ज्यान नजाओस् भनेर मानवीय सेवा भावले रक्तदान गरिएको बताए । अध्यक्ष पाण्डेले स्थानीय सरकारसंग सहकार्य गरेर सरसफाई, बृक्षरोपण लगायतका कामहरु पनि नियमितरुपमा गर्दै आएको बताए । कार्यक्रममा संघको कार्यसमितिका पदाधिकारी, सदस्य,सल्लाहकार र शुभेच्छुक समेत गरी ४० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक विजय आचार्यले बताए ।
चौराहा हस्पिटल प्रालि र माया शुभ किराना पसलले आर्थिक तथा जिन्सी सहयोग गरेको रक्तदानमा रक्त सञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जीसी, बाणिज्य उपाध्यक्ष केशव श्रीस,महासचिव यमलाल मरासिनी,सचिव कोशलराज भण्डारी, कोषाध्यक्ष नम्रता थापा,सहकोषाध्यक्ष अर्जुन गिरी लगायतले बोल्दै मानवीय सेवा र समाजिक काममा संघ सधैं अग्रणी भूमिकामा रहनुपर्नेमा जोड दिए । संघले यसअघि बुटवल देवीनगरमा गरेको चौथो औद्योगिक ब्यापार मेलामा स्टल नै राखेर ८१३ जनालाई रक्तदान गराएको थियो ।