© २०२३
काठमाडौं,१४ बैशाख । नेपाली कांग्रेसले आगलागी पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रवन्ध गर्न माग गरेको छ। हाल देशभर आगलागी भइरहेका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै आगलागीका कारण जलेर घाइते हुन पुगेकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन हुन पुगेकालाई राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रवन्ध गर्न माग गरेका छन् ।
आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्याउन सभापति शेरबहादुर देउवाले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
हालै देशका महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लाहरुमा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौं व्यक्ति घाइते, सयौं चौपायाको मृत्यु, घर, खाद्यान्न, लत्ता कपडा लगायतका भौतिक सम्पत्ति पूर्ण रुपले जलेर नष्ट तथा क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।