© 2026
काठमाडौं,१३ बैशाख । नेकपा एमाले पार्टीभित्रको निषेधित राजनीतिका कारण आफू राजनीतिको एउटा घुम्तीमा पुगेको नेता भीम रावलले बताएका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताए।
अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १० औं महाधिवेशनमा प्रतिष्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उनले बताए।
एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पनि आफूलाई एमालेले निषेध गरेको उनको भनाइ थियो।
‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरुले जुनप्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ,’ उनले भने, एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु। हामी सबैलाई थाहा छ हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौं भने त्यो अर्को मोडमा मान्छे लाग्छ।’
एमालेमा सबैभन्दा लामो समय आफूले विदेश विभागमा काम गरेको स्मरण गर्दै उनले देशको सार्वभौमसत्ताका विषय उठाएकै कारण पार्टीमा निषेध गरिएको दाबी गरेका थिए। आफूले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति पढेर पार्टीलाई योगदान दिएको बेला एमालेमा उक्त विषय पढेको मान्छे नै नभएको उनको दाबी थियो।
उनले आफू महाधिवेशन परिषद् समितिको सदस्य भए पनि बैठकमा सहभागी हुन पाउने अधिकारबाट निषेध गरिएको बताए।
टीका लगाएर पद दिने, आदेशबाट नेतृत्वमा पठाउने र निषेधको राजनीति गर्ने हो भने एमालेले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई छाड्नुपर्ने उनले बताए।