© २०२३
बुटवल,१२ बैशाख । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बुधबार सूचना निकालेका हुन् ।
सर्वोच्चले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला सुनाएको थियो ।
कांग्रेस नेता गुरुङ २०७९ मंसिरको चुनावमा मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । तर विशेष अदालतमा दायर भएको मुद्दा विचाराधीन रहेकाले अन्तिम किनारा नलाग्दासम्म निलम्बन रहनुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ पुस २०७९ मा संघीय संसद् सचिवालयलाई पत्र पठायो । त्यसको चार दिनपछि संसद् सचिवालयले गुरुङ निलम्बनमा परेको सूचना निकालेको थियो । गुरुङको निलम्बन फुकुवासंगै संसदमा कांग्रेसका सांसदको संख्या थप हुने भएको छ ।