© २०२३
भैरहवा, ९ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएपछि गाउँपालिकाले आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले आइतबार बिहान रोहिणी–६ स्थित पर्साबाट राहत वितरण कार्य सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगलागीबाट प्रभावित घरपरिवारलाई तत्काल राहत वितरण सुरु गरिएको बताए ।
शनिबार रोहिणी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा आगलागीबाट ५० वटा घरमा क्षति पुगेको अध्यक्ष यादवले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले आगलागीबाट प्रभावित घरपरिवारलाई तत्काल राहत सामग्री वितरण सुरु गरिएको बताए । उनले पीडित परिवारलाई खाद्यान्न सामग्री, झुल, त्रिपालसहित नगद वितरण गरिएको जानकारी दिए ।
आगलागी प्रभावित क्षेत्रमा पुगेका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ताले प्रभावित परिवारलाई घरदैलोमै पुगेर राहत वितरण कार्य सुरु भएको बताए । आगलागी प्रभावित घरपरिवार बिचल्लीमा परेको स्थानीय प्रदीप पाण्डेयले जानकारी दिए ।