© २०२३
सल्यान, ८ बैशाख । सल्यान उद्योग वाणिज्य संघको नया नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । श्रीनगर स्थित उद्योग वाणिज्य संघको हलमा मतदान सुरु भएको हो । सल्यान प्रदेशसभा क का सदस्य तथा कर्णाली प्रदेश सरकारका निवर्तमान भुमी, व्यवस्था तथा कृषी सहकारी मन्त्री भिमप्रकाश शर्माले पहिलो मत खसालेका छन् ।
आगामी नयाँ नेतृत्वको लागि दुई वटा प्यानल बनाएर उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा बिरेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट भरत बस्नेतले अध्यक्ष पदमा प्रतिष्पर्धा गर्दैछन् ।
सल्यान उद्योग वाणिज्य संघको निर्वाचनमा २१ पदका लागि ४२ जना उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दैछन् । जिल्लाभर एक हजार ९२६ जना मतदाता रहेको निर्वाचन संयोजक वीर बहादुर सेजवालले जनाए ।
संयुक्त व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली, महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी, महासचिवमा मान बहादुर वली, सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगरले प्रतिष्पर्धा गर्दैछन् । बिहान ७ बजेदेखी अपराह्न ४ बजे सम्म मतदानको समय निर्धारण गरिएको छ । मतदान सम्पन्न भएलगतै मतगणना कार्य सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतगणना स्थलको पनि तयारी भैसकेको छ भने मतगणना स्थललाइ सुरक्षित राख्न तारजाली लगाइएको छ ।