© २०२३
बुटवल, ७ बैसाख । बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको रकम अपचलन प्रकरणमा थुनामा रहेका मध्ये अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्रै थुनामा राख्न अदालतले आदेश दिएको छ । रुपन्देही जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश डा दीपक उप्रेतीको इजलासले बांकी ६ जनालाई धरौटीमा छाड्न आदेश दिइएको हो । अदालतको आदेश अनुसार पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश कुमार पुनसँग ४ लाख, नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरिएको छ । यस्तै कास्की कारागार पोखरामा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिइने अदालतका सूचना अधिकारी अनन्त मरासिनीले भने ।
सुप्रिम सहकारीका १० हजार ८३१ वचतकर्ताको एक अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीले ओखलढुंगा घर भएका गितेन्द्रबाबु जीबी राईसहित २४ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो ।