© २०२३
बुटवल, ६ बैशाख । बुटवलमा निमार्ण गरिएको सैनिक फिल्ड अस्पताल, सैनिक महाविद्यालय र आपत्कालिन रिकभरी डाटा सेन्टरको विहिबार उद्घाटन भएको छ । सैनिक कल्याणकारी कोषको लगानीमा निमार्ण भएको अस्पताल, महाविद्यालय र डाटा सेन्टरको नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले एक समारोहका बिच उद्घाटन गरेका छन ।
देशका सात प्रदेशहरुमा सैनिक महाविद्यालय तथा सैनिक अस्पतालहरु निमार्ण गर्ने लक्ष्यअनुसार लुम्बिनी प्रदेशको बुटवलमा सैनिक फिल्ड अस्पताल, सैनिक महाविद्यालय र आपत्कालिन रिकभरी डाटा सेन्टर स्थापना गरिएको उनले बताए । हाल २५ शैयाको सैनिक फिल्ड अस्पताल तथा शैक्षिक सत्र २०८१ देखी शुरु हुने गरि कक्षा ६, ७ र ८ कक्षाको अध्ययापन हुने गरि सैनिक महाविद्यालय निमार्ण गरिएको छ । यसका साथै नेपाली सेनामा प्रचलनमा रहेको डिजिटाईजेसनका महत्वपूर्ण दस्तावेजहरुको आपतकालिन रिकभरी हुने गरि डाटा सेन्टरसमेत निमार्ण गरिएको छ ।
नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त सैनिक तथा आश्रित हिताधिकारीहरुलाई शिक्षा तथा स्वास्थ्य सेवाको पहुच प्रदान गर्ने उदेश्यका साथ काम अघि बढेको उनले बताए । नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका सन्ततिहरु ६० तथा गैरसैनिकका सन्ततिहरु ४० प्रतिशतले गुणस्तरीय शिक्षा पाउने ब्यवस्था महाविद्यालयमा रहेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, रथीवृन्द, अधिकृत, पदिकहरुको सहभागिता रहेको थियो ।