© २०२३
काठमाडौं,२ बैसाख । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता प्रकरणमा अख्तियारले सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ । निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी एवं नेपाली कांग्रेसका सांसद चौधरीको बयान लिने तयारी गरेको हो ।
अख्तियारले शुरुमा विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो । यो साताभित्रमा चौधरीलाई बयानमा बोलाउने तयारी भएको सिआईबीले बताएको छ ।
२०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा चौधरी समूहले आफ्नो नाममा ल्याएको थियो । चौधरी समूहले २०४२ सालमा खुलेको च्याम्पियन फुटवेयरले बाँसबारीको जग्गा आफ्नो नाममा सारेको थियो । च्याम्पियनले आफ्नो नाममा सारेको उक्त जग्गा चौधरी समूहकै चाँदवाग रेसिडेन्सीको नाममा छ ।
जग्गा अनियमितता प्रकरण सतहमा आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०का साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेका थिए ।
सीआईबीले केही महिना अघि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेर अदालतको आदेशबाट केही दिनमा छाडेको थियो ।
अनुसन्धानका क्रममा सीआईबीले गत चैत ८ गते व्यवसायी एवं कांग्रेस सांसद विनोद चौधरीलाई सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो । लगत्तै उनी विदेश गएका थिए ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितताबारे अहिले पनि सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेका छन् । जग्गा च्याम्पियनको नाममा दर्ता हुँदा लुनकरण दास चौधरीले पत्नी गंगादेवी, छोराहरू विनोद कुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र ज्वाइँ महेशकुमार अग्रवालका नाममा कम्पनी स्थापना गरेका थिए । त्यही कम्पनीले बाँसबारीको जग्गा आफ्नो नाममा ल्याएको थियो ।