© २०२३
बुटवल, २९ चैत । बुटवलको सुप्रिम सहकारीका वचतकर्ताहरुले संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिबि) राई र व्यवस्थापक सागर केसीलाई सरकारले कहिले पक्राउ गर्छ भन्ने प्रश्न गरेका छन् ।
उक्त सहकारीका पीडितहरुले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षमा हुंदा चर्को स्वरमा जिबि राईलाई पक्राउ गर्न किन नसकेको भन्दै प्रश्न गर्ने रवि लामिछाने अहिले गृहमन्त्री हुंदा किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएका हुन् ।
सहकारीका मुख्य व्यक्तिहरु पक्राउ परेपनि राजनीतिक दल र सरकारको पहुँचमा रहेकाले दोषीलाई उम्काउने प्रयास हुनसक्ने भन्दै अध्यक्ष राई र बुटवल शाखा व्यवस्थापक सागर केसीलाई यथाशीघ्र पक्राउ गर्न गृहमन्त्री लामिछानेसंग माग गरे । सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले राई र गृहमन्त्री लामिछाने विगतमा गोर्खा मिडिया प्रा.लिमा संगै रहेका र त्यहां सहकारीको करोडौं रकम गएकाले सरकारले उनलाई पक्राउ गर्न नभई बचाउन लागेको शंका उब्जेको बताए ।
‘हिजो प्रतिपक्षमा हुंदा गृहमन्त्रीले चर्को स्वरमा जिबि राईलाई आकाश पाताल सात समुद्र पारी जहां भएपनि पक्राउ गर्न सरकारसंग माग गरेका थिए’–नेपालले भने–‘अहिले उहां आफै गृहमन्त्री हुनुहुन्छ राईलाई पक्राउ गर्न कसले रोकेको छ ?’
लामिछाने गृहमन्त्री भएपछि राई र व्यवस्थापक केसी लगायत ठगीमा संलग्न व्यक्तिहरुको पक्राउमा सरकारले उदासिनता देखाएको र पीडितलाई न्याय दिन भन्दा पीडकलाई उम्काउन लागि परेको शंका पैदा गरेको बताए ।
हजारौं बचतकर्ताको रकम अपचलन गरी फरार रहेका राई, के.सी लगायतलाई पक्राउ गर्नु भन्दा अनुसन्धान गर्ने निकाय गृहमन्त्रीको असंलग्नता देखाउन मात्र प्रयास गरेको अर्का पीडित कृष्ण प्रसाद खरेलले बताए । ‘दश हजार बढी वचतकर्ताको अरबौं रकम हिनामिना हुंदा गृहमन्त्रीले आफ्नै पुर्व सहकर्मी हाल सम्म पक्राउ गर्न किन सकिरहेका छैनन् ?’–खरेलले प्रश्न गरे–‘गृहमन्त्रीले प्रतिपक्षमा हुंदा एकथरि र सरकारमा गएपछि अर्कोथरि कुरा गर्न मिल्छ ?’
सरकार पनि सहकारी पीडितलाई न्याय दिन भन्दा पनि गृहमन्त्रीलाई चोख्याउन मात्र तल्लिन भएको उनको आरोप छ ।
अर्की बचतकर्ता दुर्गा रिमालले बुटवलका हजारौं बचतकर्ताको बचत डुबाएर राई र केसी फरार हुंदा स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु दोषीलाई पक्राउ गर्न र पीडितलाई न्याय दिने पक्षमा चुइक्क नबोलेको गुनासो गरिन् । ‘ यहांका नगर प्रमुख, उपप्रमुख, प्रदेश र केन्द्रका सांसद देखि मन्त्री कोही पनि पीडितको पक्षमा बोल्दैनन्, बरु राजनीतिक आडमा जोगाउन खोजेको हो कि भन्ने शंका छ’– उनले भनिन्–‘स्थानीय र प्रदेश सरकारको मौनता कहिलेसम्म ? हाम्रो बिचल्लि हुदाँ यहांबाट जितेका संघिय सांसदहरुले हाम्रा बारेमा कहिले बोल्ने ?’
सरकारलाई दबाव दिन सहकारी पीडितहरुले वैशाख ४ गते बुटवलमा बृहत प्रदर्शन गर्ने र त्यसपछि चरणवद्ध आन्दोलन घोषणा गर्ने अर्का पीडित देविलाल भट्टराईले बताए ।
रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरी एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबि) राई सम्पर्कविहीन छन् ।