© २०२३
काठमाडौं,२९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबन्ने बताएका छन् ।
संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बेला प्रधानमन्त्री प्रचण्डको भनाई आएको हो ।
बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसको माग राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउंदै संसदीय छानबिन समिति नबन्ने बताए ।
नेपाली कांग्रेसले यसलाई राजनीतिक इस्यु बनाएको आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्डले यसको समाधान राजनीतिक समझदारीबाटै गर्नुपर्ने बताए ।
यदि रविरुद्ध कुनै प्रमाण भेटिए अनुसन्धान हुने उनले बताए ।
अनुसन्धान गर्ने निकाय सीआईबीले नै रविविरुद्ध प्रमाण नभएको भनेपछि थप अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रचण्डको जिकिर छ ।
प्रधानमन्त्री प्रचण्डले ६ चैतको प्रतिनिधि सभा बैठकमा सहकारीको रकम अपचलनमा रवि लामिछाने संलग्न नभएको प्रहरीको ब्रिफिङ रहेको बताएका थिए ।
कांग्रेसले पहिलो प्रयास रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन गरेको र त्यो प्रयास सफल नभएपछि सहकारीको विषय उठाएको आरोप लगाए ।