© २०२३
बुटवल, २८ चैत । बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरुले ३ दिने औद्योगिक अध्ययन भ्रमण सम्पन्न गरेका छन । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको आयोजनामा उद्योगीहरुले पाल्या, स्याङजा तथा कास्कीका पर्यटकिय र पोखरा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगको अध्ययन भ्रमण गरेका हुन ।
विभिन्न जिल्लाका उद्योगीहरु बिच भाईचाराका साथै बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवर्द्धन र अनुभव साटासाट गरेको संघका अध्यक्ष हिरामणी भट्टराईले बताए । बुटवलका उद्योगी तथा बासिन्दाहरुको लगानीमा निमार्ण भैरहेको सेती नदी हाइड्रो पावरको अवलोकन समेत भएको उनले बताए । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’ तर्फको काम धमाधम भइरहेको छ । सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्युत गृह बनाउन लागिएको छ । नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धन गरेको छ ।
संघका अध्यक्ष भट्टराईको नेतृत्वमा १८ सदस्यीय टोली पोखरा औद्योगिक क्षेत्र उद्योग संघसंग अन्तरक्रिया गरेका थिए । रुपन्देहीको औद्योगिक क्षेत्रमा जग्गा अभावका साथै अन्य विभिन्न समयमा आईपर्ने समस्याहरुको समाधानका बारेमा अन्तरक्रिया गरिएको थियो । साना उद्योगीहरुको कुरा उठानको वातावरण सृजना गर्ने गरि सरकार लाग्नुपर्ने उनले सुझाव दिए ।
पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले व्यवसायिक अनुभवहरु एक–अर्कालाई सुनाउने, राम्रा र सकारात्मक कुराहरुलाई आगामी दिनमा प्रयोगमा ल्याउन सबैले पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहाकार उद्योगी ज्ञानेन्द्र कसजुले उद्योगीहरुका समस्याका बारेमा राज्यलाई दवाव दिन उद्योगीहरु वीचको एकता नै जरुरी रहेको बताए । टोलीले पोखरा औद्योगिक क्षेत्रमा रहेको नेपाल कै ठूलो डेरी उद्योग सुजल डेरी, माछापुच्छे इन्जीनियरिङ वर्कस, रत्न इन्जीनियरिङ वर्कसलगायतका उद्योगहरुको अवलोकन गरेको थियो ।
भ्रमण टोलीका संयोजक यादव भण्डारीले ३ दिवसिय भ्रमणले आन्तरिक पर्यटन प्रबर्द्धन तथा औद्योगिक उत्पादनको अध्ययन अवलोकन गर्ने राम्रो अवसर दिनुकासाथै भ्रमणबाट आन्तरिक सहकार्यमा बल प्राप्त भएको अनुभव सबै उद्योगीमा भएको बताए ।