© २०२३
काठमाडौं,२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेलाई राप्रपाको आन्दोलनमा दमन नगर्न चेतावनी दिएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई दमन गरे विद्रोहमा परिणत हुने चेतावनी समेत लिङदेनले दिए । आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनले यो दिन यादमा राखिराख्ने चेतावनी दिएका छन् ।
४० बुँदे माग राखेर राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले रोक्दा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा, अश्रुग्यासका साथै लाठीचार्ज गरेको थियो ।
अध्यक्ष लिङ्देनले गृहमन्त्रीको आदेशमा सांसदहरूमाथि समेत आक्रमण भएको बताए । उनले आफू मात्र जान्ने, आफू मात्र लोकप्रिय र आफू मात्र इमान्दार भन्ने भ्रम नपाल्ने गृहमन्त्रीलाई आग्रह गरे ।
आफूहरु जनतालाई झुक्याएर नआएको भन्दै उनले राप्रपाले जितेको अवस्थामा अभिभावकका रुपमा राजा ल्याउने, प्रदेश तह खारेज गर्ने, ०४६ पछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारीहरुलाई जेल हाल्ने बताए ।
उनले सत्ताको दम्भ नदेखाउन गृहमन्त्री र प्रधानमन्त्रीलाई आग्रह गरे । यही व्यवहार गरेर आन्दोलन कठोर बनेर विद्रोहमा परिणत हुने लिङ्देनको चेतावनी छ ।
रवि लामिछानेलाई छानबिन हुनु पर्ने उनले बताए । रवि लामिछानेलाई छानबिन नै हुनु नपर्ने कुन व्यवस्था हो भन्दै छानबिन गर्दा दोषी देखिएन भने ठीक छ भने । उनले पहिलो पटक गृहमन्त्री हुँदा निर्मला पन्तको हत्यारा पक्राउ गर्छु भनेर गरेको निर्णयलाई लिएर समेत लामिछानेमाथि प्रश्न गरे।