© २०२३
सल्यान, २६ चैत– खलंगाका विजय राना सानै उमेरदेखि नयाँ नयाँ र रचनात्मक काम गर्नमा रुची राख्दथे । विभिन्न उपकरणहरूको अनुसन्धान तथा आविस्कार गर्दै आएका विजयले यसपटक भने पानीजहाज बनाएका छन् ।
उनले सानो आकारको पानी जहाजको शारदा नदिमा परिक्षण समेत गरेका छन् । सोमबार श्रीनगर टाउनप्लानिङ स्थित बैकुण्ठ धाम नजिक शारदा नदिको पानीमा पानी जहाज परिक्षण गरिएको र परिक्षण सफल भएको उनले जनाए । उनले भने, ‘पानी जहाजको परिक्षण सफल भएको छ । अब नयाँ वर्षको अवसर पारेर बैशाख १ गते शारदा नदिमा पानी जहाजको उद्घाटन गर्ने तयारी छ ।’
शारदा नदीमा पानीको सतह सानो आकारको भएकोले बैकुण्ठ धाम आसपासको क्षेत्रमा नदिको केही भागलाई थुनेर तालको आकार जस्तो बनाउन लागिएको उनले बताए । त्यसका लागि शारदा नगरपालिकाले डोजर लगाएर नदीको आकार बढाउने विजयको भनाइ छ । उनले दुई हप्ताको समय लगाएर आफैले इन्जीनबाट चल्ने पानीजहाजको निर्माण गरेको बताए । चालक सहित ९ वटा सिट रहेको पानीजहाजको क्षमता ६ सय ७५ किलो रहेको विजयको भनाइ छ ।