© २०२३
बुटवल, २६ चैत । नेपाली सेना कल्याणकारी कोषद्धारा संचालिन सैनिक आवासिक महाविद्यालय बुटवलमा विद्यार्थी र अभिभावकहरुको आर्कषण देखिएको छ । बुटवलमा यही शैक्षिकसत्रदेखी अध्यापन शुरु गरेको विद्यालयमा करीब ५ सय बढी विद्यार्थीहरुको आवेदन आएको हो ।
देशका विभिन्न स्थानमा आवासिय विद्यालय चलाउदै आएको कल्याणकारी कोषले यो वर्षदेखी बुटवल कक्षा ६ मा दुई वटा समुह गरि ३४/३४ र कक्षा ७ र कक्षा ८ मा ३४/३४ गरि कुल १३६ जनाको कोटामा आवेदन खुलाएकोमा हो ।
मध्य पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी सुनिल श्रेष्ठले महाविद्यालयमा अभिभावक र विद्यार्थीहरुको चाप बढ्नु स्वाभाविक भएको बताए । सैनिक विद्यालयमा विद्यार्थीहरुलाई उनिहरुको रुचि अनुसार अध्ययनका साथ खेलकुद र अतिरिक्र क्रियाकलापमा सहभागी गराउने हुदा सिकाई उपलब्धि मिल्ने उनले बताए । प्रवेश परिक्षा संचालन भएको र कोटा अनुसार नै भर्ना गरिने उनले बताए ।
लिखित परिक्षामा नाम निकाल्न सफल भएका उम्मेदबारहरुको मंगलबार र बुधबार अन्तरवार्ता तथा स्वास्थ्य परिक्षण भई सबै कुरामा पास भएमा भर्ना प्रक्रिया अगाडी बढाईने महाविद्यालयका समन्वय अधिकृत सेनानी नरेश अर्यालले बताए । सैनिक परिवार र आम नागरिकको गरि ६०/४० कोटा निर्धारण गरिएको उनले बताए । भर्ना भएका विद्यार्थीहरुको बैशाखको दोस्रो सातादेखी पढाई शुरु हुने उनले बताए । यसअघि कल्याणकारी कोषबाट काठमाण्डौ, भक्तपुर, चितवन, धरान, सुर्खेत, धनगढी, पोखरा, बर्दिबासमा समेत महाविद्यालय संचालन हुदै आएको छ ।