© २०२३
काठमाडौं,९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ।
स्वास्थ्य अवस्था जटिल भएका कारण उनलाई रिहा गरिएको स्रोतको दावी छ ।
जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएपछि अर्को म्याद नलिई उनलाई हाजिरी जमानीमा छाडिएको हो।
बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो सीआईबीले अदालत नलगी छाडेको हो।
हाजिरी जमानीमा छाड्न उनको फाइल सरकारी वकिल कार्यालयमा पठाएपछि त्यहीँबाट रिहा भएका सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।
सरकारी वकिल कार्यालयको रायपछि महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।
त्यसपछि अदालतकै आदेशअनुसार महरा हिरासतमा नबसी उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए। सरकारी वकिलबाट छुटेपछि उनी उपचारका लागि नर्भिकमै भर्ना भएका हुन्।
इलेक्ट्रिक सिगरेट भेप मा राखेर किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए।
भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको पाइएपछि महरालाई पक्राउ गरिएको थियो।
यसअघि नै महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो। उनीहरू अहिले पनि पुर्पक्षका लागि थुनामा छन्।