© २०२३
बुटवल, ६ चैत ।
नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उदघाटन संगठनका केन्द्रीय सचिव विष्णु कुमारी अधिकारीले गरेकी थिइन् । कार्यक्रममा संगठन रुपन्देही अध्यक्ष प्रेमप्रसाद खनालले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै अस्पतालहरुमा देखिएको रगतको अभावलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले आफ्नो अमूल्य रगत दान गर्ने रक्तदाता लगायत अन्य सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि संगठनले यस्तै रचनात्मक काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै संगठनकी केन्द्रीय सचिव अधिकारीले संगठनले संचालन गर्ने यस्ता कार्यक्रमले जनतासँग ट्रेड युनियन भन्ने नाराले सार्थकता पाएकोले यस्ता कार्यक्रम निरन्तर गरिरहन संगठन रुपन्देहीलाई सुझाव दिईन् । केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नुपर्नेमा जोड दिए । एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठन प्रति विशेष आभार प्रकट गरे ।
कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो । कार्यक्रम संयोजक एवं संगठन रुपदन्देहीका सदस्य गुणाखर पाण्डे, सचिव जिवन पौडेललगायतले रक्तदानकोृ महत्वमाथि प्रकाश पारेका थिए । संगठन रुपन्देहीले नियमित विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आएको छ ।