© २०२३
कोरोना महामारीका कारण तीन बर्ष थला परेको लुम्बिनीको पर्यटन व्यवसाय माथि उठ्न नपाउँदै फेरीपनि संकटमा परेको छ । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था हुँदा लुम्बिनीमा करोडौं लगानी गरि स्थापना भएका होटल अहिले सुनसान भएपछि व्यवसायीले गुम्बा र बिहारमा पर्यटक राख्न बन्देज लगाउनु पर्ने माग गर्दै आएका छन । निश्चितरूपमा लुम्बिनीका पर्यटन व्यवसायीको जायज माग सम्बोधन गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ । लुम्बिनी विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रूपमा पर्यटक राख्ने व्यवस्था स्थायीरूपमा रोक लगाउन व्यवसायीले गरेको माग अबिलम्ब सम्बोधन गर्नुपर्दछ । त्यसै त कोरोना महामारीका कारण प्रभावित भएका लुम्बिनीका पर्यटन व्यवसायीमा कोरोना सकिएपछि व्यवसाय माथि उठ्ने आशा जागृत भएको थियो । होटलमा पर्यटक भरिभराउ हुने आउने आशामा बसेका व्यवसायीमाथि विहार र गुम्बा समस्या बनेको छ । लुम्बिनी होटल सङ्घ नेपालले लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र लुम्बिनी भित्रका विहार र गुम्बामा पर्यटक राख्ने व्यवस्था अन्त्य गर्न माग गरेको छ । विदेशबाट आउने पर्यटकहरू आ–आफ्नो देशले बनाएका विहार तथा गुम्बामा आएर बस्ने गरेका छन । जसका कारण लुम्बिनी बाहिरका होटल सुनसान हुने अवस्था छ । करोडौं लगानी त्यसमाथि सरकारलाई कर तिर्दै आएका पर्यटन व्यवसायीको समस्या सम्बोधन गर्नेतर्फ लुम्बिनी विकास कोषले तत्काल पहल गर्नु जरुरी छ ।
त्यसो त विहार र गुम्बा भनिने ठाउँ बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना हुनुपर्दछ । तर, ती ब्यापारको थलो बनेका छन् । यो चिन्ताजनक कुरा हो । यो बिषयमा नेपाल सरकार, प्रदेश र स्वयं लुम्बिनी सांस्कृतिक पालिकाको पनि ध्यान जानु जरुरी छ । पर्यटन व्यवसायी प्रभावित हुने गरि भएको यस खालको काम लुम्बिनी गुरुयोजनाको मर्म विपरीत हो । यो काम तत्काल रोकिनुपर्दछ । यसले पर्यटन व्यवसाय प्रभावित भएको छ । व्यवसायीहरू व्यवसाय नै बन्द गरेर बस्न बाध्य हुने अवस्था आएको छ । यही अवस्था कायमै रहे लुम्बिनी क्षेत्रमा रहेका होटलमध्ये गत वर्ष खोलिएका १० भन्दा बढी स्थायीरूपमा बन्द भएको र यस वर्ष थप होटल बन्द हुने अवस्थामा पुग्ने कुरामा शंका गरिरहनु पर्दैन । लुम्बिनीभित्रका विहार तथा गुम्बालाई होटलको रूपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाउनु कदापि राम्रो होइन । यस प्रकारको कामले लुम्बिनीका विहार र गुम्बाको अस्तित्वमाथि पनि प्रश्न उत्पन्न भएको छ । लुम्बिनीका होटल व्यवसायीले लुम्बिनी विकास कोषमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई समेत बोधार्थ पठाएका छन् । लुम्बिनीको पर्यटन व्यवसाय माथि उठाउने हो भने लुम्बिनीभित्रका विहार र गुम्बामा पर्यटक बसाल्ने काम तत्काल रोकिनुपर्दछ । स्वयं विहार र गुम्बा सञ्चालकहरूले पनि नियम विपरितको काम रोकेर सहजीकरण गरिदिनु जरुरी छ ।