© २०२३
काठमाडौं,३ चैत । अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकहरूको ऋण लिने, कालोसूचीमा पर्ने र तिर्दिन भन्ने प्रवृत्ति आपराधिक प्रवृत्ति भएको बताए। उनले व्यवस्थामाथि प्रश्न उठाउने, व्यवस्था नै मन परेन भनेर व्यवस्थाका सानातिना कमजोरी, राजनीतिक प्रणालीका सानातिना कमजोरी खोतलेर व्यवस्था र नेतृत्वप्रति अनास्था पैदा गर्ने प्रवृत्तिसँग पनि आफूहरूको समर्थन नरहने बताए।
उनले धार्मिक, सामाजिक अतिवादले मिलेर रहेको समाजलाई विखण्डन गर्ने प्रवृत्ति, आफ्ना केही स्वार्थ पूरा गर्ने, आफ्ना महत्वाकांक्षा अगाडि ल्याउने प्रवृत्तिसँग पनि सरकारले सहमति नगर्ने बताए। उनले काम नगर्ने र सजिलै धनी बन्न खोज्ने प्रवृत्तिसँग सरकारले सहमति गर्न नसक्ने बताए।
मन्त्री पुनले राज्य प्रणालीमा भएको कमीको समीक्षा गर्न आफूहरू तयार रहेको भन्दै आफू अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने काम गर्ने बताए।