© २०२३
सल्यान, २ चैत ।
सल्यानमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सल्यान श्रीनगरमा आयोजित कार्यक्रमका सहभागिहरुले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु आफैं जागरुक हुनुपर्ने बताएका छन् । साथै सेवा दिने निकाय, उद्यमी, व्यावसायी लगायत सबै सरोकारवालाहरुले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी काम गर्नुपर्ने वक्ताहरुको धारणा छ ।
उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया तथा सचेतना कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले व्यापारी र उपभोक्तालाई सचेत गराउनको लागि शिक्षा र चेतनाको अभिवृद्धि गर्नुपर्ने बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले कानुन तथा नियमन गर्ने निकाय हुदाँहुदै पनि उपभोग्य समाग्रीको गुणस्तरमा कसैले ध्यान नदिएको र यसको प्रत्यक्ष असर उपाभोक्तामा परेको बताए । यसको समाधानको लागि जिम्मेवार र नियमनकारी निकायले निरन्तर बजार अनुगमन गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका उप प्रमुख सुस्मिता सपकोटाले उपभोक्ता शिक्षा र सचेतनाका कार्यक्रमलाई तल्लोस्तरसम्म प्रभावकारी रुपमा लैजानुपर्ने बताइन् । कार्यक्रममा जिल्ला समन्व समितिका उप प्रमुख असबिर बुढाथोकी, राष्ट्रिय भुमि आयोग सल्यानका अध्यक्ष वीर बहादुर सेजवाल, उद्योग वाणिज्य संघका उपाध्यक्ष भरत बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
सरोकावाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानिय व्यापारी, पत्रकार, उपभोक्ता लगायतको सहभागितामा दिवस मनाइएको उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले जानकारी दिए ।