© २०२३
काठमाडौं,२५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सत्ता समीकरण चारै वर्ष टिकाउनुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकमा यो गठबन्धन चारै वर्ष टिक्ने विश्वास समेत दिलाए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नु परेको ओलीले बताएका थिए ।
नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीको थियो । तर ती शक्ति केन्द्रहरु आफै परास्त गर्नेगरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीले बताए ।
माओवादी केन्द्रसहित दलहरुसँग साझेदारी गर्दै सत्ताको यात्रा अगाडि बढाउने निर्णय गर्नेगरी आजको बैठक बसेको थियो ।
अर्का एक पदाधिकारी अनुसार, सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अनुकुल टीम बनाउन सहयोग गरेको ओलीले बताएका छन् । महत्वपूर्ण मन्त्रालय गठबन्धनका अरु दलहरुलाई नै दिएर एमाले सरकारमा सहभागी भएकोमा पार्टी पंक्तिमा टिप्पणी भइरहेको छ ।
सचिवालय बैठकले आगामी ८–९ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक राख्ने र १० वैशाखमा पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । एमालेभित्र प्रतिनिधि परिषद् बैठक महाधिवेशन पछि शक्तिशाली संरचना हो ।
केन्द्रीय कमिटी बैठकबाट भएका निर्णयहरु र पार्टीले लिनुपर्ने नीतिबारे हरेक–हरेक दुई वर्षमा बस्ने प्रतिनिधि परिषद् बैठकले समीक्षा गर्ने गर्छ ।