Butwal Today

सरकार ढाल्न खोजे प्रदेश सभा विघटन : मुख्यमन्त्री कार्की

२५ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २५ फागुन ।   कोशी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भए संसद नै विघटन गरिदिने मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएकाले यसले अंकगणित नहेर्ने बताए ।
मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संविधानको प्रावधानलाई देखाउँदै त्यसपछि पनि आफ्नो सरकार हटाउन खोजे संसद नै विघटन गर्ने संकेत गरेका हुन् ।

संघीय सरकारको समीकरण फेरबदल भए पनि कोशी प्रदेशको प्रकृति फरक रहेको उनको जिकिर छ । उता, विपक्षी दल नेकपा एमालेले कार्कीलाई हटाउने आफूहरुको तयारी रहेको बताएको छ ।

‘प्रदेशसभा विघटन गर्नका लागि संवैधानिक घटनाक्रम हुनुपर्छ । संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन हुनका लागि उपधारा ५ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसक्ने परिस्थिति निर्माण हुनुपर्ने या उपधारा ५ अनुसारको सरकार बन्ने आधार हुन नहुने बताए ।

सर्वोचले संविधानको धारा ७५ को उपधारा ५ मा रहेको प्रावधान हेर्दा यदाकदा दलीय आधारमा सरकार गठन हुन नसक्ने परिस्थिति पैदा भएमा पनि अन्तिम विकल्पको रुपमा सरकार गठन हुने उपाय कायम राख्ने अभिप्रायले राखेको देखिएको व्याख्या गरेको छ ।
कोशी प्रदेशका हालका मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार गठन गर्ने कसरतमा एमालेलगायतका दलहरु लागिरहेका छन् ।