Butwal Today

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा

१४ फाल्गुन २०८०, सोमबार
अ+
अ-

लमही, १४ फागुन ।

दाङको दुर्गम गाउँपालिका राजपुरमा सोमबारदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गरेकी हुन् ।

सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा विस्तार गर्ने क्रममा राप्तीपारिको गाउँपालिका राजपुरमा एफटिटिएच पुर्याइएको बताइन् । उनले अध्यक्षमार्फत गाउँपालिकाका बासिन्दालाई बधाई पनि दिइन् ।

केही समयअघि दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा एफटिटिएच सेवा पुर्याइएको जानकारी दिंदै दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेकी मन्त्री शर्माले अब लगत्तै राप्तीपारिको गाउँपालिका गढवामा पनि सेवा विस्तार हुने बताइन् ।

दशवटा स्थानीय तह रहेको दाङका छ वटा पालिकामा एफटिटिएच सेवा विस्तार भएको छ । मन्त्री शर्माले बाँकी तीन गाउँपालिका शान्तिनगर, बबई र दंगीशरणमा पनि चाँडै एफटिटिएच विस्तार गर्न नेपाल टेलिकमललाई निर्देशन दिएकी छन् ।

नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले पूर्वपश्चिम राजमार्गको रिहारबाट १५ किलोमिटर अप्टिकल फाइबर विस्तार गरेर राजपुरमा सेवा सुरु गरिएको जानकारी दिए । हाल वडा नम्बर ४, ५ र ६ मा यो सुविधा पुर्याइएको र यसबाट तत्काल पाँच सय १२ लाइन फोन, इन्टरनेट र टेलिभिजन वितरण गर्न सकिने उनले जानकारी दिए । यो पालिकाका वडा नम्बर १, २ र ३ मा चाँडै विस्तार गरिने उल्लेख गर्दै उनले यो हप्ताभित्रै गढवा गाउँपालिकामा एफटिटिएच विस्तारको काम सुरु हुने बताए ।

तुलसीपुरदेखि हापुरेसम्मको लाइन विस्तारको काम पनि शुरु गर्ने तयारी थालिएको जानकारी दिंदै कार्यालय प्रमुख शर्माले अबको दुई महिनाभित्र एफटिटिएच पुग्न बाँकी शान्तिनगर, दंगीशरण र बबई पनि पुर्याइने जानकारी दिइन् ।