© २०२३
बुटवल, ५ फागुन । बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिएको हो ।
सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो ।
‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रवार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ’–इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले भने ।
दुबैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।
यो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबि) राई हुन् । उनी २०७८ सम्म अध्यक्ष थिए । २०७८ सम्म गुरुङ उपाध्यक्ष थिए । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै वचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।
संस्थापक अध्यक्ष एवं संरक्षक जिबि राई सम्पर्क विहिन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ । गुरुङले आफूले गलत नगरेको तर जिबि राईको कारण आफू फसेको पक्राउ पर्नुअघि बताउंदै आएका थिए ।