Butwal Today

तिलोत्तमा ६ को आननन्दवन स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा शुरु

४ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

तिलोत्तमा,४ फागुन ।    तिलोत्तमा नगरपालिकाले वडा नंं ६ स्थित आनन्दवन स्वास्थ्य चौकीमा भिडियो– एक्स रे सेवा सुरु गरेको छ।

शुक्रबार एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले भिडियो– एक्स रे सेवाको उदघाटन गरेका हुन् ।
गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको नगरप्रमुख खाँणले बताए ।

उनले नगरपालिकाले नगरवासी महिलाको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउंदै स्वस्थ शिशु जन्माउन नियमित भिडियो एक्सरे गर्नुपर्ने भएकाले नगरभित्रै यो सेवा शुरु गरिएको बताए ।

तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले अन्य सरकारी अस्पतालमा भिडियो एक्सरेको शुल्क ७५० र निजीमा १३ सय रुपैयां शुल्क रहेकामा यहां ६५० मात्र रहेको बताए ।

ठूलो मेहनतले भिडियो एक्सरे सेवा सञ्चालन गर्न सफल भएकाले यसको सेवा लिन नगरवासीलाई वडाध्यक्ष पाठकले अनुरोध गरे । स्वास्थ्य चौकीमा हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार महिला तथा प्रसुति रोग विशेषज्ञ डा. शर्मिला शर्माले गर्भवती महिलाको भिडियो एक्सरे गर्ने स्वास्थ्य चौकीका प्रमुख ज्ञानप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा ध्रुव धिताल,अर्जुनराज उपाध्यायले तिलोत्तमा ६ का वडाध्यक्षले वडावासी र नगरवासीको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै यसबाट अरुले पनि सिक्नुपर्ने बताए ।