© २०२३
बुटवल, ३ फागुन । मेरुदण्डका बिरामीलाई सहयोगार्थ मेची–महाकाली साईकलमा निस्केका दुई हवाई चालक क्याप्टेनलाई बुटवलमा भब्य स्वागत गरिएको छ । आर्थिक रुपमा विपन्न र मेरुदण्डको घाईते भई उपचारमा कठिनाई भोगेका बिरामीहरुलाई कोष स्थापना गर्ने उदेश्यका साथ क्याप्टेन भरतसिह थापा र क्याप्टेन सुनिल प्रधानले मेचि–महाकाली यात्रामा निस्केका हुन ।
एक कार्यक्रमका बिच डिष्ट्रिक गर्भनर राजेन्द्र ध्वजु, डिष्टिक रोटरी डे सेलिब्रेसन चेयर राजेन्द्र ढकाल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल लगायत विभिन्न क्लबका पदाधिकारी, सदस्यहरुले बुटवल धागो कारखानास्थित बुटवल स्वागतद्धारमा साईकलयात्रीहरुलाई खादा लगाएर स्वागत गरे ।
क्याप्टेन भरतसिह थापाले काठमाण्डौमा रहेको स्पाइनर इन्जुरी पुनस्र्थापना केन्द्रमा उपचार्थ बिरामीहरुलाई ह्वीलचेयरका लागि सहयोग गर्ने बताए । ‘विपन्न परिवारलाई फण्ड रेज गर्न यात्रा गरेका हौ ।’– उनले भने । यात्रामा विभिन्न एयरलायन्स र संघसंस्थाहरुका साथै सहयोगदाताहरुबाट थोरै थोरै रकम जुटाएर लक्ष्यमा पुग्न लागेको उनले बताए । ‘ब्यक्तिगत र संस्थागत रुपमा सहयोग जुटेको छ ।’– उनले भने । ५५ लाख रुपैयाको कोष बनाउने लक्ष्य अनुसार करीब २२ लाख सहयोग जुटिसकेको उनले बताए । सामाजिक कार्यमा साईकलको महत्व बुझाउन समेत सफल भएको उनले बताए । स्पाइनर इन्जुरी संघ नेपालको र रोटरी डिष्ट्रिकको सहकार्यमा मेची पुलबाट माघ २८ गतेबाट शुरु भएको यात्रा फागुन ६ गते महाकालीमा पुगेर समापन गर्ने उनले बताए ।