© २०२३
बुटवल,१ फागुन । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले १४औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम तिलोत्तमामा खाद्यान्न प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवा गर्ने उद्देश्यले आश्रमलाई २० हजार मूल्य बराबरको चामल,दाल,तेल लगायत खाद्यान्न प्रदान गरिएको हो ।
यस्तै स्थापना दिवसको अवसरमा २०६६ सालमा संस्था स्थापना गरेका संस्थापक अध्यक्ष अशोक वर्मा नेतृत्वको कार्यसमिति र सल्लाहकार समेत १३ जनालाई कदरपत्रले सम्मान गरिएको अध्यक्ष बुद्धिप्रसाद गुरुङले जानकारी दिए ।
सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष एवं ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक वर्माले व्यवसायीक हक हितका लागि एकतावद्ध भएर अघि बढ्न र उपभोक्तालाई गुणस्तरीय सेवा दिन आग्रह गरे । उनले संस्थाको नाम परिवर्तन गरी देशभर एउटै नाम बनाउने प्रकृयामा महासंघ रहेको जानकारी समेत गराए ।
संघका अध्यक्ष बुद्धिप्रसाद गुरुङले स्थानीय सरकार र विभिन्न व्यवसायिक संस्थासंगको सहकार्यमा विना दर्ता चलेका व्यवसायलाई करको दायरामा ल्याउन कडा नीति नियम बनाउन पहल गरी व्यवसायीलाई संरक्षण गर्ने,व्यवसायीका समस्या पहिचानका लागि सबै सदस्य उद्योगीको घरदैलोमा पुग्ने अभियान चलाउने बताए ।
सो अवसरमा पुर्व अध्यक्ष दिलबहादुर राना तुलजी सारु, निवर्तमान अध्यक्ष मोहन भट्टराई, वरिष्ठ उपाध्यक्ष ध्रुबमणि ज्ञवाली, महासचिव कृष्णप्रसाद पोख्रेल,सचिव बोम थापा लगायतले बोल्दै व्यवसायीहरुबीच आपसी एकताविना व्यवसाय दीगोरुपमा सञ्चालनमा समस्या हुने भएकाले संघमा एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए ।