© २०२३
बुटवल,२८ माघ । रुपन्देहीमा भएको प्रदेशस्तरीय इन्जिनियरिङ तथा आईटी हाजिरीजवाफ प्रतियोगितामा बुटवलको मणिमुकुन्द कलेजका विद्यार्थीहरु प्रथम भएका छन् । कलेजका विद्यार्थीहरु सक्षम न्यौपाने र प्रतिक शर्मा प्रथम भएका हुन् । प्रतियोगितामा होराइजन जिबिएस कलेज डाइभरटोलका निशान्त नेपाल र शिशिर पोखरेल दोस्रो तथा प्रयास खनाल र आयुश मरासिनी तेस्रो भएका छन् । यस्तै तिलोत्तमा क्याम्पसका विद्यार्थीहरु सान्त्वना भएका छन् ।
लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीमा भएको प्रतियोगितामा विज्ञान विषय पढाई हुने रुपन्देहीका अधिकांश कलेजको सहभागिता थियो ।
प्रथम भएका मणिमुकुन्दका विद्यार्थीले नगद १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाउनुका साथै काठमाडौंका चर्चित इन्जिनियरिङ कलेजमा स्नातक तह (बीई) अध्ययनका लागि पूर्ण छात्रवृत्ति र राष्ट्रियस्तरको आइटी क्वीजमा भाग लिन पाउने भएका कलेजका संयोजक पशुपति चौधरीले बताए ।
यसैबीच प्रथम भएका विद्यार्थीहरुलाई कलेजमा आयोजित एक कार्यक्रममा प्राचार्य टुकबहादुर क्षेत्री लगायतले सम्मान गरेका छन् । विद्यार्थीलाई सम्मान गर्दै प्राचार्य क्षेत्री र विज्ञान संयोजक लक्ष्मण गैरेले संस्थाले विद्यार्थीलाई पाठ्यक्रमको ज्ञानसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने गरी पठनपाठन गराइरहेको बताए ।