Butwal Today

रविको प्रश्न : सांसद विनोद चौधरीलाई किन बयान नलिएको ?

२८ माघ २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भन्दै प्रश्न गरेका छन्।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रश्न गर्दै उनले चौधरीको कम्पनीको पनि सेयर बराबर देखिएको कारण अनुसन्धानको घेरामा ल्याउन सकिने जिकिर गरे।

‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिनअघि हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ,’ सभापति लामिछानेले भने।

तर, उनले चौधरीलाई थुन्नैपर्छ भन्ने आफ्नो भनाइ नरहेको बताए।  ‘विनोद चौधरीलाई पनि थुन्नुपर्छ भनेको नभई अनुसन्धानको दायरामा ल्याएर बयान लिनुपर्नेमा त्यो किन लिइएन भन्ने आफ्नो प्रश्न भएको लामिछानेले स्पष्ट पारे ।