© २०२३
बुटवल, २७ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न दिन दलहरुसंग आग्रह गरेका छन् । आफूले सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने उनको दावी छ । शनिबार पार्टीले राजनीतिक दल र संघसंस्थासंग गरेको अन्तरक्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए ।
जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा आफ्नो विमति नरहेको तर त्यसो गर्दा देशमा स्थिरता हुनुपर्ने अनि किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने विप्लवले बताए । ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरु झैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ’– उनले अन्य दलहरुसंग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्र्रह गर्दै भने ।
२० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको चन्दले खुलाए । दलाल पुंजिवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दलको सहमति हुनुपर्ने उनले आग्रह गरे । सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेका तर देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै भएको उनको जिकिर छ ।
दलाल पुंजिवाद र साम्राज्यवाद देशको मुख्य दुश्मन भएको भन्दै उनले नेपालको प्राकृतिक स्रोत,राष्ट्रिय पुंजी र सम्पदामाथि हमला भइरहेको बताए । चर्को बैंक ब्याजदर , लघु वित्त र सहकारी ठगीका श्रृंखलावद्ध घटनाहरु दलाल पुँजीवादकै कारण भएको उनले तर्क गरे ।
अहिलेको व्यवस्थामा अदालत, अख्तियार र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुंजिवाद नै भएको चन्दको तर्क छ ।
स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रबारे दलहरुको सुस्पष्ट नीति नहुंदा युवा जनशक्तिको विदेश पलायन शहरदेखि गाउँ सम्म डरलाग्दो गरी फैलिएको उनले औंल्याए । युवा शक्तिले मुलुकमा सुशासन र विधिको शासन खोज्छन्, देश परिवर्तनमा साथ दिन्छन् भनेर योजनाबद्ध ढंगले उनीहरुलाई विदेश पलायन हुने अवस्था सिर्जना गरिएको चन्दको दावी छ । माओवादी सहित सबैजसो दलका नेताहरुमा श्रम संस्कारबाट च्युत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने बताए । मन्त्रीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नसके त्यसले समाजवादको आधार खडा गर्ने र नागरिकमा धेरै धन थुपार्ने लोभ कम हुने चन्दले तर्क गरे ।