© २०२३
बुटवल,२७ माघ । मणिमुकुन्द मावि बुटवलले अभिभावकलाई अभिमुखिकरण गरेको छ । बालबालिकाको पढाईलाई कसरी राम्रो र उनीहरुलाई संस्कारयुक्त, अनुशासित बनाउन सकिन्छ भन्नेबारे अभिमुखिकरण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको एक्लो प्रयासले मात्र नहुने भएकाले बालबालिकाको पढाई र उनीहरुलाई संस्कारी बनाउन अभिभावकको पनि भूमिका हुनुपर्ने बताए । विश्वव्यापीरुपमा स्मार्ट मोबाइल फोनको प्रयोग बालबालिकाको लत बनेकाले यसमा नियन्त्रण गर्नुपर्ने वक्ताहरुको सुझाव थियो । अभिभावकले पनि मोबाइलको प्रयोग कम गरेमा बालबालिकाले पनि कम गर्ने र बालबालिकालाई आध्यात्मिक बाटोमा हिंडाउन सके उनीहरु संस्कारी र अनुशासित हुने वक्ताहरुले सुझाव दिए ।
बालबालिकालाई अभिभावकले परीक्षामा उत्कृष्ट हुनुपर्छ भनेर अनुचित दबाव दिन नहुने बरु उसको क्षमता र रुचि पहिचान गरेर सोही अनुसारको क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुपर्ने पनि वक्ताहरुले अभिभावकलाई सुझाव दिए । कार्यक्रममा विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले संस्कारयुक्त शिक्षा दिएर विद्यार्थी र अभिभावकको विश्वास जित्ने गरी विद्यद्यालय अघि बढेको बताए ।
विद्यालयका सञ्चालक उमापति न्यौपानेले अनुशासन र संस्कारले नै विद्यार्थी जीवनका हरेक मोडमा सफल हुने भएकाले अभिभावकले यी कुरामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा अभिभावक बालकृष्ण पाण्डेले विद्यालय र शिक्षकको जिम्मामा छाडेर मात्रै बालबालिकाको पढाई र अनय क्रियाकलाप राम्रो नहुन सक्ने भएकाले घरमा अभिभावकले पनि चासो दिनुपर्ने बताए । सो अवसरमा विद्यालयका संयोजक हरिप्रसाद पौडेल,शिक्षक उमापति न्यौपाने, प्रशिक्षक खेमराज रेग्मी लगायतले आफ्ना भनाई राखेका थिए । अभिमुखिकरणमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका करिब ६ सय जना अभिावक सहभागी भएका शिक्षक प्रकाश सुवेदीले जानकारी दिए ।