© २०२३
काठमाडौं,२५ माघ । भ्रष्टाचारमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् ।
नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका बस्नेतले मंगलबार कार्यालय समय पछि अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका हुन् ।
उनले रातिसम्म बसेर बयान दिएका थिए । पटकपटक बोलाउदासमेत बयान दिन अस्वीकार गरेपछि अख्तियारले चेतावनी दिएपछि उनी बाध्य भएर बयानका लागि गएका हुन् ।
भ्रष्टाचारको आरोपमा बहालवाला मन्त्रीले बयान दिएको अख्तियारको साढे चार दशकको इतिहासमा यो दुर्लभ घटना हो । यसअघि सर्वोच्च अदालतले गैरकानुनी सम्पत्तिआर्जनको अभियोगमा दोषी ठहर गरेपछि सञ्चारमन्त्री जयप्रकाश गुप्ता सर्वोच्च अदालत परिसरबाटै पक्राउ परेका थिए ।
स्वास्थ्यमन्त्री बस्नेत ०७४ सालमा सञ्चारमन्त्री हुँदा नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद सम्बन्धी विवादमा मुछिएका थिए । कर्मचारी तहबाट प्रस्ताव नै नआएको अवस्थामा बार्षिक कार्यक्रम स्वीकृतिका लागि आएको फाइलमा मन्त्री बस्नेतले ‘टेरामक्स’ प्रणाली स्थापना गर्ने निर्णय घुसाएका थिए ।
एमाले सांसद रघुजी पन्तका अनुसार मन्त्रीलाई अख्तियारले बोलाउनु भनेको भ्रष्टाचारमा छानबिन हुनु हो । छानबिनमा परेपछि पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।
२३ भदौ २०७४ मा मन्त्री बस्नेतले आफै इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी भ्वाइस ओभर इन्टरनेट प्रोटोकल नियन्त्रणका लागि उपयुक्त इक्विपमेन्ट र सिस्टम सञ्चालन गर्ने भनी निर्णय गरेका थिए । त्यस बेलाको निर्णयका कारण स्वास्थ्यमन्त्री रहेका बस्नेतले यति बेला बयान दिनुपरेको हो ।
एमाले सांसद रघुजी पन्त पञ्चायतकालदेखि आजसम्म पदमा बहाल रहेको मन्त्री झण्डा हल्लाउदै अख्तियारमा बयान दिन गएको उदाहरण नभएको बताउँछन् । उनले भ्रष्टाचारको आरोप लागेको मन्त्री पदमा बसिरहनु कुशासनको नमुना भएको बताए ।