© २०२३
बुटवल, २५ माघ । सर्वोच्च अदालतको फैसला विपरित माओवादी केन्द्रले जितेका पालिकाहरुमा फागुन १ गते ‘जनयुद्ध’ दिवसको अवसरमा भन्दै सार्वजनिक विदा दिइएको छ । रोल्पाको रोल्पा नगरपालिका र माडी गाउंपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् । माडी गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना निकालेर उक्त दिन गाउंपालिका मातहतका सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने उल्लेख गरेका छन् । यस्तै रोल्पा नगरपालिकाले पनि ‘जनयुद्ध’ दिवसको अवसरमा भन्दै फागुन १ गते नगरपाकिला मातहतका सरकारी कार्यालय र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । यी दुबै पालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।
सर्वोच्च अदालतले भने ‘जनयुद्ध’ दिवसमा बिदा दिने पुपकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष गरेको निर्णय हालै मात्र खारेज गरेको छ । विभिन्न मितिमा परेका ६ वटा रिटमाथि सुनुवाई गरेको सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय खारेज गरेको हो ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले सरकारले दिने बिदा र त्यसका आधारमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय तथा सूचनाहरु समेत उत्प्रेषणको आदेशले बदर गरेको छ । ज्ञानेन्द्रराज आरणसमेतले विभिन्न मितिमा दर्ता गराएको रिटमाथि सर्वोच्चबाट यस्तो फैसला आएको हो ।
१ फागुनमा सशस्त्र द्वन्द्व सुरु भएको मितिलाई स्मरण गर्दै गत वर्ष मन्त्रिपरिषद्ले उक्त दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने र बिदा दिने निर्णय गरेको थियो । गत वर्ष २९ माघमा सरकारले गरेको यस निर्णयविरुद्ध रिटहरु दायर भएका थिए । द्वन्द्वपीडितहरुले यस बिदाले आफूहरुको भावनामा चोट पुगेको दाबी गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उक्त विदाको विरोध गर्दै खारेज गर्न माग गरेको थियो । स्थानीय तहहरुले मनोमानी ढंगले विदा दिने परिपाटी बढ्दै गएपछि यसलाई लगाम लगाउनुपर्ने आवाज उठेको छ ।