© २०२३
काठमाडौं,२४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न लगायत ५ मुद्दामा सर्वदलीय वैठक बस्न पर्ने बताएका छन् । अहिले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताउंदै उनले आर्थिक शिथिलता, आम नैराष्य र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होपको विषय, सुशासन र भ्रष्टाचार नियन्त्रण, रुग्ण भौतिक पूर्वाधार आयोजनाको व्यवस्थापन,शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधान र परराष्ट्र मामिलाका विषयमा सर्वदलीय वैठक बस्नुपर्ने बताएका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै ठूला दलबीच सर्वदलीय बैठक हुने गरेकोमा असन्तुष्टी जनाए । सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमा सर्वदलीय बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए ।
यी ५ विषयमा सबै राजनीतिक दलको साझा धारणा बनाएर संसदबाट पास गर्न उनले प्रस्ताव गरेका छन् ।
सत्तारुढ दलका नेताहरुको कुरा सुन्दा बेथिती कहाँ छ र समाधान कसरी हुन्छ भन्ने पनि थाहा रहेको देखिएको लामिछानेले बताए ।